माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ माओवादीको कब्जामा नआएसम्म मधेशको कल्याण नहुने बताएका छन् ।
‘माओवादी मधेसमा बलियो भए मात्रै मधेसको अधिकार र विकास हुने छ’ उनले भने,‘मधेशीको माग पूरा गर्न आलटाल गर्दै संविधान संशोधनमा असहयोग गरेकै कारण केपी ओलीलाई जनताले सडकबाटै लखेटे । ‘संविधान संशोधनका लागि कसैले धोकाधडी गरे फेरी सडकबाट त्यसलाई गलहत्याइने छ ’ प्रचण्डले भने, मधेसका लागि केपी ओली खलनायक रहेको र खलनायक ओलीलाई साथ दिएर महन्थ ठाकुर, राजेन्द्र महतोले मधेस विरोधी चरित्र देखाएका छन् । ओली नेतृत्वको सरकारलाई झण्डै पौने चार वर्ष काँध थापेका प्रचण्डले संविधान संशोधनको विषय उठाउँदा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट हटाउँदा ‘चु’ शब्द बोलेका थिएनन् । माओवादी केन्द्रले महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेस विकासकालागि माओवादी प्रतिबद्ध गरेको उल्लेख गर्दै चुनावमा माओवादीलाई बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिए । तराई मधेशमा ऊर्जा र समग्र मधेशमा सिँचाइको राम्रो व्यवस्था गर्न लागि परेको प्रचण्डलले बताए ।
प्रधानमन्त्री नभएपनि मधेसमा सिचाइ, शिक्षा, सडक, पर्यटन र उर्जा विकासकालागि पार्टीका मन्त्रीहरुलाई तत्कालै परिचालन गर्ने छु, दाहालले भने,‘म प्रधानमन्त्री पदमा छैन । तर, प्रधानमन्त्री बनाउने शाक्तिशाली व्यक्ति हुँ।’ मधेशको विकासकालागि गठबन्धन सरकारमा आपूm शक्तिशाली रहेको उनले भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेशको विकासका एजेण्डाबारे धेरै समय खर्चेपनि उनी भूमिगतपछि अधिकांश समय सरकारमा रहँदा मधेशको विकासमा कुनै योगदान नदिएको विपक्षीहरुको आरोप रहेको छ । तर मधेशमा शक्तिशाली भएको कारणले विकास निर्माण कार्यमा कुनै समस्या नहुने प्रचण्डले दाबी गरे । गलत राजनीति संस्कारले चुरे दोहन भएको उनले आरोप लगाए । मधेशका खलनायक ओलीले चुरे दोहन गराएको आरोप लगाउदै मुलुकको राजनीतिमा सुधारसंगै चुरे र प्राकृतिक श्रोतको संरक्षणमा समेत पहल भएको छ, उनले भने । ‘देशमा राजनीति बिग्रे सबै बिग्रन्छ, देशमा धेरै कुरा बिग्रेको थियो अहिले आएर विस्तारै सबै ठिक हुँदैछ । चुरे दोहन गर्ने, गिट्टी बालुवा घिचेर विदेश बेच्ने नीति खलनायक केपी ओलीको थियो । हामीले त्यसलाई रोक्यौँ ।’ अब छिट्टै चुरे संरक्षणको लागि विस्तृत योजना ल्याउने छौ, उनले भने ।
मधेशमा जरा गाडेको मिटरव्याजीका कारण गरिब विपन्नको उठिबास हुनबाट रोक्न माओवादीले पहल गरेको उनले दाबी गरे । मधेशको लाइफलाईन हुलाकी सडक निर्माणमा प्रगति भएकोमा खुशी व्यक्त गर्दै प्रचण्डले हुलाकी सडक बनाउन आपूmले भारत सरकारसंग पटक पटक पहल गरेको बेलिबिस्तार लगाए ।


