अपडेट 
२०७८ मंसिर २, बिहीबार ०७:४०

नेपाल तराई मधेसलाई राजनीतिको उर्बर भूमि मानिन्छ । त्यसैले होला जस्तो सुकै जनआन्दोलन तराई मधेसबाट नै शुरू भएको देखिन्छ । पहाड जति आन्दोलित भए पनि तराई नतातुञ्जेलसम्म त्यो आन्दोलन उँचाइसम्म नपुगेर बिचैबाट बिलाउँछ । अर्कोतिर मूलत सबै पार्टीका नेता तथा कार्यकर्ताहरूको शरणस्थल तथा कार्यक्षेत्र तराई मधेस नै रहेको देखिन्छ । नेपालको विगतको राजनीतिक इतिहासतिर लाग्दा तराईमा पार्टी नखुलेको होइन भन्न सकिन्न । २००७ सालको प्रजातांत्रिक जनआन्दोलन ताका पनि तराई मधेसनै यसको आधारभूमि थियो तर दुर्भाग्य जे जति नेता जितेर गए, उनीहरू तराईतिर होइन उत्तरतिर मात्र फर्केर कार्य योजना बनाए र कामलाई मूर्तरूप दिने काम गरे । यसले गर्दा तराईका जनता राजनीति गर्नेबाट जो निर्वाचित भएर आए/गए खासै दिलचस्पी राखेन ।

तर अब केही वर्ष विगतदेखि तराई मधेसमा पनि केही पार्टीहरू अगाडि बढेका छन् । मधेसी जनतामा यसरी यी पार्टीहरूका प्रगति देख्दा आशा पलाएको थियो कि यिनीहरू अब तराई–मधेसको लागि केही गर्लान् । तर यिनीहरू आ–आफ्नै बीचका खिचातान, मतभेद, पार्टी फुट, जुट, फुटको क्रियाकलापले गर्दा जनतातिरको ध्यान उतैतिर मोडिएको देखिन्छ । अर्कोतिर तराईको जनतामा अहिले पनि राजनीतिक अन्यौलता छ । कुन पार्टी तराईको हीतमा बढी सक्रिय छ तथा कुन पार्टी निष्क्रिय छ त्यसलाई जनताले यकीन गर्न सकेका छैनन् । पहिल्लो दशकमा तराईका जनता पनि विस्तारै राजनीतितिर आकर्षित भएर तराई मधेसको निकै ठाउँमा आफ्नो उम्मेदवारलाई विजयी गराएका थिए । त्यसैले होला जनता लोकतांत्रिक पार्टी र संघीय समाजवादी पार्टीले संसद भित्र राष्ट्रिय पार्टीको आकार लिन सफल भए । हुनत यसको शुरूको इतिहासतिर लाग्दा तराई २००७ सालकै जनआन्दोलनदेखि एकादूका पार्टी अस्तित्वमा रहे पनि निर्वाचन ताका आफ्ना जमानतसम्म पनि बचाउन सफल हुन सकेन । पछि पंचायत कालमै गजेन्द्रनारायण सिंह नेपाल सद्भावना पार्टी खोलेर भूमिगत रूपमा पार्टी संचालन गरेका थिए । यो पार्टीले तराई मधेसलाई राजनीतिक रूपले सचेत बनाउने निकै ठूलो आधार तयार ग¥यो । दोस्रो पटक प्रजातंत्रको पुनर्वहाली पश्चात यसै नेपाल सद् भावना पार्टीको टिकटमा जितेर संसदसम्म मात्र पुगेन, पटक पटक सरकारमा मंत्री समेत हुन पाए ।

गजेन्द्रबाबुको देहावसान पश्चात उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमले तराईमा माओवादी केन्द्रको दबदबालाई चुनौती दिई एउटा ठूलो आकार लिएको देखियो । त्यस पछि नेपाली कांग्रेसबाट राजिनामा दिई महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को उदय भयो । यिनीहरू जुट्दै फुट्दै विगतको निर्वाचनतामा बेग्ला बेग्लै सीटमा सम्झौता गरी साझा उम्मेदवार समेत उठाएका थिए र दुबै पार्टी राष्ट्रिय पार्टीको रूपमा संसदमा उपस्थित भए । केहि पछि दुबै पार्टी एकीकृत भएर जनता समाजवादी पार्टीको रूपमा अगाडि आए । यो एकीकृत पार्टी निकै समयसम्म एकजुट रहन सकेन । केपीशर्मा ओलीका दोस्रो पटक निर्वाचित प्रधानमंत्रीको मंत्रिपरिषद्मा जसपाका उपेन्द्रजीको नेतृत्वमा सरकारमा सामेल भए पनि निकै धेरै समयसम्म टिक्न सकेन । त्यसपछि ओलीको अप्रजातांत्रिक कामको विरूद्धमा उपेन्द्रजीले आवाज उठाउन थाले । समयको केहि अन्तराल पछि माधवकुमार नेपाल, पुष्पकमल दाहाल, तथा झलनाथ खनाल नेकपाबाट अलग भई ओलीको विरूद्धमा मोर्चाबन्दी भए । केही समय पश्चात सर्वोच्च अदालतबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः पहिले जस्तै छुट्टा छुट्टै पार्टीको रूपमा अस्तित्वमा आए । एउटै पार्टी भएपनि माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टीको जन्म भयो । अहिले नेकपा (एमाले) सरकारमा छैन । नेपालमा अहिले पाँच पार्टीको समर्थन तथा चार पार्टी सम्मिलित गठबन्धनको सरकार छ । यस गठनबन्धनको सरकारलाई समर्थन गर्ने पार्टीहरूमा क्रमशः नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस), जनता समाजवादी पार्टी, नेपाल तथा जन्मोर्चा, नेपाल रहेका छन् । जनमोर्चा सरकारलाई बाहिरबाट समर्थन गरेको छ, सरकारमा सामेल छैन । अहिले कतिपय पार्टीहरू आ–आफ्ना अस्तित्वको बचाउ गर्दै अगाडि बढ्न चाहन्छ । नेपालमा लोकतंत्र जोगाउन पार्टीहरूको सबलता निकै आवश्यक देखिन्छ ।

पार्टीहरू आ–आफ्नै बीच फुट–जुट–फुटको राजनीतिबाट लोकतंत्रलाई कमजोर पार्ने काम गरेका छन् । पार्टी फुटनु पछाडि पनि पार्टी नेतृत्वबाट सही तेतृत्व दिन नसक्नु हो । पार्टी भित्र सही छलफल नहुनु हो । यस्तै कतिपय पार्टी असंबैधानिक कदमलाई पनि बैधानिकताको जामा लगाउन पछि परेको देखिएन । सही बोल्नेलाई सही भन्न सक्नु पर्छ । म जे बोल्छु त्यही सही हो भने जिद्दबाट पार्टीहरू फुटेका छन् । कतिपय पार्टी फुट्नुमा विदेशीहरूको समेत पार्टी भित्रको प्रवेशलाई अस्वीकार गर्न सकिँदैन । तराई मधेशमा अहिले जनता समाजवादी फुट् दा तराईमा अब कुनै पार्टीको सबलतामा विश्वास रहेन किनभने पार्टी फुट्ले गर्दा आफ्नै साथीहरूका विरोधको सामना गर्दा गर्दै समय बित्न थाल्छ । अहिले गठबन्धनको सरकारमा जसपाको उपस्थिति छ । भोली निर्वाचन हुँदैछ । कुन पार्टी कतातिर लाग्ने हो ? ठेगान छैन । हुनत गठबन्धनका दलहरूले ठाउँ ठाउँमा आ–आफ्ना बक्तव्य मार्फत भनिरहेका छन् कि हामी निर्वाचनसम्म मिलेर जानेछौं । तर यस्ता अनुमान मात्र हो । तराईका मानिसहरूलाई के विश्वास थियो भने भोली निर्वाचनमा तराई मधेशका पार्टीहरू एकजुटबाट निकै बढी सिट हात पार्लान तर अब त्यस्तो हुने देखिँदैन । जे भए पनि उपेन्द्रजीले जनता समाजवादी पार्टीलाई बचाउन सफल भए । यस पार्टीको आकार सतहतरै जिल्लासम्म पुगि सकेको छ । यसमा उपेन्द्रजीको सोच निकै उँच देखिन्छ । सिंहदरबारको नेतृत्व लिन तराई, पहाड र हिमाललाई समाउनै पर्छ । हुन पनि वास्तविकता यही हो । त्यसो त सबै पार्टीहरूले आ–आफ्ना मेनिफेस्टोमा मधेसी, दलित, मुस्लिम, पिछडावर्ग, जनजाति, सिमान्तकृत समूह लगायत सबैको हीतलाई ध्यानमा राखी बढ्ने बाचा गरेका हुन्छन् । तर व्यवहारमा त्यसो गरेको देखिँदैन । तराईको कतिपय पार्टीमा विचलन आएको देखिन्छ । राजनीतिमा हतारिएर हुँदैन । धैर्यताको आवश्यकता हुन्छ ।

छिट्टै सरकारमा पुग्न चाहने पार्टीलाई जनताले पनि चिन्न थाल्छन् । यता लोकतांत्रिक समाजवादी पार्टी आफ्नै कार्यकर्ताको खिचातानीमा समय खेर फालिराखेको छ । प्रदेश नं. २ को सरकारबाट समेत अल्गिएको छ । ओलीले मधेशको माँग सबै पूरा गरिदेला भने मृगतृष्णामा परेर आफ्नो बने बनाएको पार्टीलाई समेत टुक्राउन पछि परेन । ओलीलाई त भान भै सकेको थियो की संविधानलाई मिचेर संसद विघटन गरेको हुनाले त्यो संसद जीवित त पक्कै हुन्छ होला । जे जति दिन सरकार बचाउन सकिए भने बचाउनु पर्छ अन्यथा विपक्षीहरू पेलेर सरकार बनाउन पुग्छ । तराईका पार्टीहरू भोलीका दिनमा आफ्ना कुरा मिल्नेसँग गठबन्धनबाट निर्वाचनमा जाँदा नै उतम देखिन्छ । नेपाली कांग्रेस र नेकपा एमाले लगभग कसैसँग गठबन्धन गर्दैन होला । यी दुबै पार्टी एक्ला एक्लै लड्ने सम्भावना लगभग शतप्रतिशत रहेको देखिन्छ । उता नेकपा (एस) को अवस्था अहिले भन्दा त्यसबेलासम्म सुधिरिने सम्भावना प्रबल देखिन्छ । एमालेभित्र रहेका रावल र रिसाल समूहलाई ओली पेलेर अगाडि बढने प्रायः निश्चित छ । त्यसबेलासम्म यी नेताहरू पनि आ–आफ्ना अस्तित्व बचाउन दाँया बाँया पल्टी नमारि हुँदैन । अर्कोतिर नेकपा (एस) मा माधव नेपाल जस्ता अनुभवी र दुरदर्शी नेता छन् । जो जस्तो सुकै संकटको सामना गर्ने क्षमता राख्छन् । तराईका पार्टीहरूको यस्तो दशा हेर्दा जनतामा निराशा बढ्दै गएको देखिन्छ । तर पनि भविष्यको दिशालाई हेर्दा जनता समाजवादी पार्टी तराईका सबै भन्दा ठूलो पार्टी भएर आउने उच्च सम्भावनालाई नकार्न सकिँदैन । यस पार्टीको विस्तार तराई, पहाड, हिमालसम्म भै सकेको छ । सबै प्रदेशका नेता, कार्यकर्ता विस्तारै यसमा सामेल हुँदै छ । पूर्व प्रधानमंत्री बाबुराम भट्टराई जस्ता उच्च मस्तिष्क भएका व्यक्तित्व समेत यसै पार्टीमा समावेश भएका छन् । यस्तै जनजाति, दलित, पिछडावर्ग, मुस्लिम जस्ता पीडित समुदायको आवाज उठाउने स्वर्य ती समूहहरू अगाडि आएका हुनाले यसको दिशा सही रहेछ भने बुझ्न थालेका छन् ।

अर्कोतिर माधव नेपाल सधैँ तराईसँग जोडिएका छन् । उहाँको रौतहटमा जन्म स्थल भएपनि कर्मस्थल धनुषा लगायत तराईका विभिन्न जिल्लालाई बनाएर काम गरेको इतिहास छ । त्यसैले वहाँको पार्टी अहिले तत्काल सिंहदरवारको नेतृत्व नलिए पनि अर्को निर्वाचन सम्म यसको निकै ठूलो आकार हुनेमा कुनै शंका छैन । तर अहिलेको फुटपरस्त नीतिबाट बच्नु पर्ने त्यतिकै चुनौती छ । नेपालमा एउटा पार्टीको सबलता अर्को पार्टीलाई सधैं काँडा जस्तै चुभेको हेर्न सकिन्छ । अहिले नै २०५ सदस्यको विधान संशोधन नगरेको भए जनता समाजवादी पार्टीबाट फुटेर अर्को पार्टी बन्ने थिएन होला । नेपालका पार्टीहरूको समिक्षा गर्दा कुन पार्टी कतातिर लाग्ने हो यसलाई अनुमान गर्न निकै कठिन छ । अहिलेको अवस्थामा पार्टीहरूको सैद्धान्तिक विचलनले गर्दा तत्कालै यस्तै हुन्छ भविष्यवाणी गर्नु कठिन देखिन्छ । लेखक ः जनसङ्ख्या तथा समाजशास्त्रबिद् हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News