गौर । प्रदेश २ का खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्माले नेपाल भारत बीचका पौराणिककालदेखिकै सम्बन्ध कसैले बिगार्न खोजे पनि सम्बन्धमा तितोपना नआउने दाबी गरेका छन् ।
गौरमा शुक्रबार मिडिया फर बोर्डर हार्मोनी रौतहटले आयोजना गरेको वर्तमान अवस्थामा नेपाल भारत सम्वन्धको चुनौती र समाधान विषयक नेपाल भारत मैत्री सम्वाद कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने ,‘नेपाल र भारत बीच बेटीरोटीको मात्र होइन सामाजिक, सांस्कृतिक तथा धार्मिक रुपमा प्रगाढ सम्बन्ध छ जुनकी समयानुकूल अझै परिस्कृत हुंदैगएको छ । ’ कोरोना कालमा सीमा बन्द भएको कारण दुबै देशका नागरिकलाइ सास्ती भोग्नु परेको उल्लेख गर्दै आगामी दिनमा अझै सहज वातावरण बनाउनु पर्नेमा उनले जोड दिए । विगतको दिनमा केहि व्यक्तिले भारतसंगको सम्बन्ध बिगार्न प्रयास गरेपनि सफल नभएको बताउंदै उनले मर्यादा पुरुषोत्तम रामको जन्म नेपालमा भएको भन्नु सत्यलाई भ्रमित गर्ने प्रयास मात्रै रहेको टिप्पणी गरे । कार्यक्रममा भारतीय जनता पार्टीका सांसद अजय प्रसाद निषादले नेपाल र भारत आत्मिक रहेको बताउंदै सीता रामको सम्बन्ध युगौ युग सम्म कायम रहने धारणा राखे । खुला सीमा नाका लगायतका नेपाल भारतबीचको सीमामा देखिने समस्याहरुको समाधान दुबै देशले मिलेर गर्नु पर्ने सुझाव दिए । सीमामा सुरक्षाको लागि शान्ति समिति गठन गर्न सीमावर्ती क्षेत्रसंग जोडिएका जिल्लावासीहरुलाई अग्रसर हुनु पर्ने आग्रह समेत उनले गरे ।
नेपाल भारत बीचको खुला सीमा दुबै देशको लागि बरदान झैं रहेकोले खुल्ला सीमानाका गतिविधिलाई निगरानी गर्न दुबै देशका नागरिकहरुको दायित्व रहेको धारणा सांसद निषादले व्यक्त गरे । ् भारतीय सीमा सुरक्षाबलका जवानहरु कुनै पनि गलत कार्य गरेको पाइएमा सप्रमाण उजुरी दिइए आमनागरिकलाई दुःख दिने जो सुकैलाई पनि भारत सरकारले कारवाही गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । नेपाल भारतका पत्रकारहरु बीच समन्वयकारी भूमिका अझै सुदृढ गर्नु पर्ने आवश्यकता उनले औंल्याए । कार्यक्रममा प्रदेश २ का कृषि भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले नेपाल भारत बीच कुटनीतिक सम्वन्ध भन्दा बलियो सामाजिक सम्वन्ध रहेको बताए । सीमा लगायतको समस्याबारे दुबै देशका राजनीतिक दलका नेताहरु बीच सम्वाद भईराख्नु पर्ने उनले सुझाव दिए । कार्यक्रममा बोल्दै भारतीय महाबाणिज्य दूतावास वीरगञ्जका बाणिज्य दूत नितेश कुमारले सीमाको विषयमा भएको समस्याको आफ्नो स्तरबाट समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा गौर नगरपालिकाका उपमेयर किरण कुमारी ठाकुर, जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादव, भारतका राजद नेता दिनेश चन्द्र ठाकुर, बैरगनियाका पुर्व नगर अध्यक्ष वसीर अन्सारी, आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव लगायतका बक्ताहरुले आ आफ्नो विचार प्रस्तुत गरेका थिए । नेपाल भारत सीमामा देखिएका चुनौती ,समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा जनकपुर टुडे दैनिकका प्रधान सम्पादक बृजकुमार यादव, किशोरी यादव, जिससका उपाध्यक्ष राम असिस राय यादव, मिडिया फर बोर्डर हर्मोनिका अमरेन्द्र तिवारी, अनिल तिवारी , विश्वनाथ चौधरी लगायत भारतका संचारकर्मीहरुको सहभागितामा आयोजक सस्थाले प्रस्तुत गरेका १५ बुंदे मागलाइ सर्वसम्मत रुपमा समर्थन गरिएको थियो ।


