जनकपुरधाम ।नेकपा एकिकृत समाजवादी(एस) का दुई जना मन्त्रिले आईतवार सपथग्रहण गरेसँगैप्रदेश २ सरकार अब चार दलिय गठबन्धन सरकार बनेको छ ।
नेकपा(एस) प्रदेश संसदीय दलका नेता समेत रहेका सत्रुधन महतो उद्योग, पर्यटन तथा वन मन्त्रीको सपथ लिएका छन् ।त्यसैगरि प्रमोद कुमार यादवले कानुन तथा प्रदेश सभा मामिला मन्त्रिको रुपमा सपथ लिएका छन् । मन्त्रि महतो र यादवलाई बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ गराएका थिए ।सपथग्रहण समारोहमा मुख्यमन्त्रि लालबाबु राउत, प्रदेश सरकारका मन्त्रि र उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा नेकपा(एस)का नेताहरुको भारी उपस्थिति रहेको थियो । मन्त्रिद्वय महतो र यादवले पदबहाली समेत गरिसकेका छन् । उद्योग, पर्यटन तथा वन मन्त्रालयका मन्त्रि रामनरेश राय यादवलाई पदमुक्तगरि महतोलाई सो मन्त्रालयको जिम्मेवारी दिएको हो ।जनता समाजवादी पार्टी(जसपा)बाट मन्त्रि बनेका यादवले राजिनामा दिन अस्वीकार गरेपछि मुख्यमन्त्री राउतले पदमुक्त गरेका थिए । कानुन तथा प्रदेश सभा मामिला मन्त्रालयको यस अघि छुट्टै अस्तित्व थिएन् ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमै सो मन्त्रालय समावेश रहेको थियो ।नेकपा माओवादी केन्द्रलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारीदिँदा मन्त्रालय टुक्रयाएर कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय अलग गरिएको थियो ।त्यसको कार्यभारपनि मुख्यमन्त्रि राउतले नै सम्हाल्दै आएका थिए । कानुन तथा प्रदेश मामिला मन्त्रालयमा मन्त्रि नभएको मौकामा मुख्यमन्त्रि राउतले त्यसको झण्डै ५ करोड बजेट रकमान्तरणगरि मुख्यन्यायाधिवक्ताको कार्यालयलाई दिएका हुन् ।कानुन तथा प्रदेश मामिला मन्त्रालयमा बजेटको समस्या आउन सक्ने संभावना छ ।
जसपाको नेतृत्वमा रहेको प्रदेश २ सरकारमा अब संघीय गठबन्धनका नेपाली कांग्रेस, नेकपा (एस) र नेकपा माओवादी केन्द्रको सरकार बनेको छ । प्रदेश सरकारमा अब जसपाका मुख्यमन्त्रि राउत सहित भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्रि विजयकुमार यादव,राज्यमन्त्रि योगन्द्र यादव, समाजिक विकासमन्त्रि नवलकिसोर साह र अर्थमन्त्रि शैलेन्द्र साह, राज्यमन्त्रि उषा यादव रहेका छन् ।त्यसैगरि काँग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्रि संसदीय दलका नेता रामसरोज यादव, खानेपानी तथा उर्जामन्त्रि ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रि वीरेन्द्र कुमार सिंह रहेका छन् । माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्रि भरत साह र राज्यमन्त्रि रुबी कर्ण रहेकी छन् । मुख्यमन्त्रि राउतले हाल सम्म तीन जना मन्त्रि र चार जना राज्यमन्त्रिहरुलाई हटाएका छन् ।हटाइएकाहरु मध्ये भौतिक पूर्वाधार विकासमन्त्रि जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्रकुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्रि रामनरेश राय यादव रहेका छन् ।राज्यमन्त्रिहरुमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रि सरोज सिंह कुशवाहा, समाजिक विकास राज्यमन्त्रि अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्रि डिम्पल झा र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रि सुरेश मण्डल छन् ।