२०७८ मंसिर ११, शनिबार ०७:१८

रौतहट । रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले रौतहटमा जुन सुकै घटना घट्ने बितिक्कै राजनीतिक दवाव आउने गरेकोले अनुसन्धानको कार्यमा बाधा उत्पन्न हुने गरेको गुनासो गरेका छन् ।

समता फाऊण्डेशनले शुक्रबार गौर नगरपालिकाको सभाकक्षमा आयोजना गरेको लैंगिक हिंसा र जातीय विभेद तथा छुवाछुत न्यूनिकरणका लागि कानुन कार्यान्वयन गर्ने निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो गुनासो गरे । प्रजिअ शाहीले एउटा घटनामा संलग्न भएका आरोपित भन्दा बढी व्यक्तिलाई आरोपित बनाइ उजुरी दिने परम्पराले वास्तविक पिडितलाइ कानुनी दयारामा ल्याउन समस्या हुने गरेको समेत उल्लेख गरे । वास्तविक दोषीलाई पहिचान गरी उजुरी दिनु पर्नेमा राजनीतिक रिस राग साध्ने उदेश्यले १० देखि २० जना माथि उजुरी दिने परम्परा रहेको उल्लेख गर्दै राजनीतिक इशारामा उजुरी दिने र मिलापत्र गर्ने कार्यले पिडितलाइ न्याय र पीडकलाइ सजाय दिलाउने कार्यमा अनुसन्धानकर्तालाइ गार्हो हुने गरेको बताए । महिला हिंसाका घटना जनचेतनाको कमिको कारण बाहिर नआउने गरेको बताउंदै घरेलु हिँसा ,महिला हिंसा , बलात्कार , यौन दुव्र्यवहार जातीय विभेद ,छुवाछुतको विषयमा प्रहरी समक्ष उजुरी दिने वातावरण मिलाउनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा दलित विकास समिति प्रदेश २ का सदस्य राजकुमार दासले समाजमा विधमान रहेको सामन्तवादी र पुंजिवादी सोचले गर्दा दलित समुदायले न्याय पाउन नसकेको धारणा राखे । गरुडा प्रहरी हिरासतमा चरम यातना दिएर हत्या गरिएका विजय राम र निरन्जन रामको विषयमा राज्य पक्षले नै कारवाही गर्न आनाकानी गरेको आरोप लगाए ।

दासले घटनाका आरोपमा फरार रहेका तीन जना प्रहरी कर्मचारीलाइ अहिले सम्म प्रहरीले हिरासतमा लिन नसकेको बताए । आरोपितलाइ बाहिर राखेर प्रहरीले मुद्दाको परिणामलाइ प्रभावित बनाउने षड्यन्त्र गरेको टिप्पणी गर्दै फरार रहेका आरोपीलाई तुरुन्त हिर ासतमा लिनु पर्ने माग गरे । जिल्ला न्यायधिवक्ता उदयचन्द्र शर्माले जातीय विभेद र छुवाछुत मानवता विरुद्धको अपराध भएको बताए । उनले यसको न्यूनिकरणकोलागि जनचेतना जगाउनु पर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरे । कार्यक्रममा बौधीमाइ नगरपालिकाका उपमेयर प्रेमलाता कुशवाहा , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील पाण्डे , महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाका प्रमुख प्रहरी सहायक निरीक्षक फुलमाया गुरौले महिला हिंसा , लैंगिक हिंसाको अवस्थाबारे आ आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News