सप्तरी । नेपाली कांग्रेस सप्तरीको क्षेत्र नं. १ को क मा प्रादेशिक सभापतिमा परशुराम चौधरी निर्वाचित भएका छन् ।
शनिबार घोषित परिणाम अनुसार प्रतिद्वन्दी कृष्ण ढकाललाई पांच मतले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले १ सय ७८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी ढकालले १ सय ७३ मत ल्याएका थिए । चौधरी कांग्रेसको संस्थापन पक्षका हुन् भने ढकाल संस्थापन इतर पक्षका हुन् । त्यसै गरी क्षेत्र नं. २ को ख मा पनि ५ मतको अन्तरले नै हार जित भएको छ । श्याम यादवले प्रादेशिक सभापतिका अर्का उम्मेदवार सतीशचन्द्र झालाई ५ मतको अन्तरले पराजित गर्दै प्रादेशिक सभापतिमा निर्वाचित भएका हुन् । संस्थापन इतर पक्षका यादवले १ सय ३२ मत पाएका छन् भने संस्थापन पक्षका झाले १ सय २७ मत ल्याएको निर्वाचन अधिकारी डा. रुद्र नारायण शर्माले जनाए । यसअघि राजविराज नगर कार्य समितिको सम्पन्न निर्वाचनमा पनि संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार आनन्द झाले संस्थापन पक्षका ध्रुव देवलाई ५ मतकै अन्तरले पराजित गरेका थिए ।
झाले १ सय १२ मत ल्याउँदा देवले १ सय ७ मत ल्याएका थिए । शनिबारै क्षेत्र नं. १ को ख को पनि प्रादेशिक सभापति निर्वाचनको नतीजा सार्वजनिक गरिएको छ । जसमा संस्थापन इतर पक्षका उमेश मिश्रा निर्वाचित भएका छन् । मिश्राले १ सय ८३ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्दी मूरली खिडहरीले १ सय ६५ मत मात्र प्राप्त गरे । यसअघि सप्तरीको निर्वाचन क्षेत्र नं. ३ को क र ख बाट प्रादेशिक सभापतिमा संस्थापन पक्षका क्रमशः ध्रुब कुमार मण्डल र भागवत यादव निर्विरोध निर्वाचित भएका छन् । सप्तरीको निर्वाचन क्षेत्र नं. ४ र क्षेत्र नं २ को क मा संस्थापन र संस्थापन इतर पक्षबीच विवाद रहेकाले दुबै पक्षलाई राखी विवाद समाधानको प्रयास भइरहेको र एक÷दुइ दिनमै अधिवेशन गरिने तयारी भइरहेको पार्टीका प्रवक्ता प्रभातकुमार ललनले बताए । सप्तरीमा अहिलेसम्मको नतीजाले महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन र संस्थापन इतर पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ ।


