जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रको श्रीमती उषा मिश्रलाई स्वास्थ्य उपचारकालागि पाँच लाख रुपैयाँ सहयोग फिर्ता गरिएको छ ।
प्रदेश प्रमुख मिश्रको श्रीमतीलाई आर्थिक सहयोगवारे जनकपुर टुडेले सोधपुछ गर्दा मुख्यमन्त्री लालबाबु राउत देखि मन्त्री, मुख्य सचिव सबैले अनभिज्ञता प्रकट गरेका थिए । तर, आइतवार सो चेक मुख्य मन्त्री कार्यालयलाई फिर्ता गरिएको स्रोतको भनाई छ । आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम कुनै व्यक्तिलाई २५ हजारदेखि ३ लाखभन्दा बढी राज्यकोषबाट उपलब्ध गराउन मिल्दैन । आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७६ को दफा ३ को उपदफा (१) मा ‘ प्रदेशभित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेकालाई निजको जीवनयापन वा औषधोपचारका लागि प्रदेश सरकारले सहयोगस्वरुप आर्थिक सहायता प्रदान गर्न सक्ने,’ भनिएको छ । निर्देशिकाको दफा ३ को उपदफा (३) मा ‘असहाय व्यक्तिलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म, विपन्न वर्गका व्यक्तिलाई २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म, अशक्त व्यक्तिलाई ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म र गम्भीर प्रकृतिका रोगीलाई बढीमा तीन लाख रुपैयाँसम्म’, उपलब्ध गराउने व्यवस्था छ ।
यसअघि पनि सरकारले कार्यविधि मिचेर पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा नेता निकटस्थ व्यक्तिलाई पैसा दिएपछि आलोचना भएको थियो । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेशका तत्कालीन पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा तथा केही सांसदहरूलाई पटक– पटक गरी ५० लाख भन्दाबढी रकम दिएको थियो। यद्यपि सो रकम फिर्ता गर्न मुख्यमन्त्री कार्यालयले कुनै चासो देखाएन् । यस अघि पनि मुख्यमन्त्रीले कार्यविधि मिचि आफ्ना जिल्लाका नेता कार्यकर्ताहरुलाई ठूलै रकम वितरण गरेका थिए । उनी आफ्ना निकटकालागिनै सो कोष बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।