अपडेट 
२०७८ मंसिर १३, सोमबार ०७:०६

जनकपुरधाम । मंसिर १७ गतेदेखि सुरु हुने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ ।

महोत्सवमा जानकी मन्दिरलाई बेहुली झैं सजाउने तयारी सुरु गरिएको हो । मन्दिरमा रंगरोगन तथा पण्डाल निर्माण लगायतको काम तीव्र रुपमा भइरहेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जनाए । विवाहपञ्चमी महोत्सवमा राम कथा प्रवचनको लागि वृन्दावनबाट बालव्यास हरिशरण महराजलाई आमन्त्रण गरिएको छ भने आज नै उनी जनकपुरधाम आउने भएका छन् । त्यसै गरी महोत्सवलाई दृष्टिगत गर्दै मन्दिर परिसरमा विशेष रुपमा किर्तन भजन कार्यक्रमको आयोजना समेत गरिएको महन्थ दासले बताए । तयारीको क्रममा सोमबार रंगभूमि मैदानको निरीक्षण गरी मेला व्यवस्थापनको तयारी गरिने भएको उनले जानकारी दिए । जनकपुरधाम उप– महानगरपालिका कर्मचारीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएपछि दुर्गन्धित बनेको नगर क्षेत्रमा सरसफाइ लगायतको काम समेत तीव्र रुपमा हुने मेयर लालकिशोर साहले बताए । आइतबार उपमहानगरपालिकामा भएको बैठकमा मेयर साहले कर्मचारीहरुलाई विवाहपञ्चमी महोत्सवकै लागि भएपनि आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । विगत तीन वर्षदेखि प्रत्येक वर्ष विवाहपञ्चमीमा औपचारिक रुपमै भारतको अयोध्याबाट जन्तीलाई आमन्त्रण गर्ने गरिएको थियो तर यस वर्ष भने जन्तीलाई आमन्त्रण गरिएको छैन ।

औपचारिक रुपमा आमन्त्रण नगरिएपनि भारतको विभिन्न स्थानबाट साधु सन्तहरुको ठूलै संख्यामा आउने महन्थ दासले बताए । विवाहपञ्चमी महोत्सवमा श्रद्धालुभक्तजनहरुको लागि सार्वजनिक शौचालयको व्यवस्थापन ठूलो चुनौती रहने गरेको छ । महोत्सवमा जनकपुरधाम क्षेत्रका मात्र नभइ भारतीय सीमा क्षेत्रका हिन्दुधर्मावलम्बीहरु ठूलै संख्यामा आउने गरेका छन् । शौचालय व्यवस्थापन लगायतका कामको जिम्मेवारी जउनपालाई दिइएको छ । सोमबारबाट सरसफाइको काम तीव्र रुपमा गरिने मेयर साहले बताएका छन् । मंसिर १७ गते नगर दर्शन, १८ गते विवाह मण्डपमा फूलबारी लीला, १९ गते जानकी मन्दिर परिसरमा धनुष यज्ञ, २० गते राम मन्दिरको प्रांगणमा तिलकोत्सव, २१ गते मटकोर , तथा २२ गते रंगभूमि मैदानमा रामजानकी विवाहोत्सव हुने कार्यक्रम रहेको छ ।

Comment


Related News

Latest News

Trending News