रौतहट । जिल्ला कारागार गौरमा नाइकेहरुको दादागिरीले गर्दा कैदी बन्दीहरु पीडित बनेका छन् । मंसिर १ गते देवाही गोनाही नगरपालिका–७ का लडाई साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेपछि कारागार भित्रको अन्याय गुन्डागर्दी र बेथिति बाहिर आएको हो । प्रमुख जेलरको सहयोगमै चौकिदार, मूल नाइके र सहायक नाइकेहरुले नै लडाई साहको हत्या गरेको पीडित परिवारजनले आरोप लगाएको छ । कैदीबन्दीहरुले पनि कारागार प्रशासन र नाइकेहरुले चरम यातना दिने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा मानवअधिकार आयोगमा पत्राचार गरेर सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । अपरहण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका साहलाई २०७६ बैशाख ४ मा कारागार चलान गरिएको थियो । कारागार भित्रको दादागिरी र यातनाका कारण साहको ज्यान गएको अन्य कैदीहरुको भनाइ रहे पनि कारागार प्रशासनले भने घटना आत्महत्या भएको दाबी गर्दै आएको छ ।
‘कारागार भित्र नाइकेहरुको छुट्टै राज्य छ ।’ गौर कारागारबाट सजाय भुक्तान गरेर आएका राजेश गिरीले भने ‘ कारागारका बन्दीहरु शारीरिक, मानसिक, आर्थिक, यातनाको शिकार भईरहेका छन्’ कारागार व्यवस्थापन ऐन २०१९ ÷ २०२० मा जघन्य प्रकृतिको मुद्दाका कैदीलाई चौकीदार नबनाउने व्यवस्था भएपनि बलात्कार गरी हत्या गरेको आरोपमा कैदी जीव बिताइरहेका विक्की सिंहलाई गौर कारागारमा चौकीदार बनाइएको छ । कारागारको कोठा नम्वर ६ मा कुनै कैदीबन्दी जान चाहंदैनन । कारागारको यो कक्ष कैदीबन्दीहरुको लागि यातना कक्ष हो । सो कोठामा राखेर विक्की सिंहको समुहले कैदीहरुलाई चरम यातना दिने र लागूऔषधको सेवन गर्ने गरेका छन् । नाइकेहरुले कारागार भित्र लागु औषध, चुरोट, खैनी, लगायतका अवैध सामानको व्यापार समेत गर्ने गरेको गिरीले बताए । ‘कैदीबन्दीहरु संग भेट्न आउने उनका परिवारका सदस्यहरुले ल्याएको सामानहरु भित्र दिने बहानामा खोसेर चौकीदार विक्की सिंहद्धारा संचालन गरिएको पसलमा राखिन्छ ।’ गिरीले भने,‘बाहिर बजारमा पाइने भन्दा भित्र कारागारको पसलमा तीन गुणा बढी महङ्गोमा खरिद गर्ने बाध्यता छ ।’ बाहिर सस्तो समान पाइने भएपनि कारागार भित्र दोब्बर मूल्य लिने गरिएको छ । काउली ६० रुपियां प्रति किलो बजारमा पाइन्छ भने कैदी बन्दीलाई करिब २ सय रुपैया लिने गरेको बुझिएको छ । परिवारलाई फोनबाट कुरा गरे वापत प्रति मिनेट ५ रुपियाँका दरले नाइकेहरु असुल्ने गरेकका छन् । मेस संचालनको जिम्मेवारी पाएका चौकीदार विक्कि सिंहले गुणस्तरहीन खाना खुवाइरहेको उनले बताए । प्रतिदिन ७ सय ग्राम चामल गरी महिनाको एक कैदी बन्दीले २१ किलो चामल र १ हजार ८ सय नगद रकम पाउने गरेको भएपनि कैदीले थप खाना मागेमा चौकीदारले कुट्ने गरेको र प्रत्येक महिनाको १, ११ र २१ गते कैदीहरुलाई लामबद्ध गराएर चौकीदारको पसलमा खाए वापतको तेब्बर रकम असुल्ने र मागे बमोजिमको पैसा नदिंदा कोठा नम्वर ६ मा राखेर चरम यातना दिने गरेको उनले जानकारी दिए ।
१६ महिना कारागार बसेर आएका गिरीले कारागार भित्र नाइकेहरुको साम्राज्यका बारेमा बताउंदै भने, ‘कत्र्तव्य ज्यान’ मुद्दामा कैदीबन्दीको जीवन बिताईरहेका शेख शौकतसंग चौकीदार विक्की सिंहले पैसा लिएर कारागार सुरक्षामा खटिने प्रहरीकै कोठामा एक महिलासँग अनैतिक सम्बन्ध समेत गराएका थिए । घटना पश्चात निरीक्षण गर्न पुगेका मानव अधिकार आयोगका टोली समक्ष १ सय कैदी बन्दीहरुले आफ्नो पीडा सुनाएका थिए । २ जना कैदीले आफु माथि दुइ नाइकेहरुले यौन शोषण गरेको समेत खुलासा गरेकी थिइन् । भाइ नाइके जय बाबु सिंह र चौकीदार विक्की सिंह को काका जय बाबु सिंह रहेका छन् भने अर्का राम नरेश यादव दाइ नाइके माथि यस्तो गम्भीर प्रकृतिका आरोप लगाईएको हो । गौर कारागार भित्र ३ सय ७७ जना कैदी बन्दी छन् जसमा १ जना नाबालक र १२ जना महिला बन्दी छिन् । कैदी बन्दीहरुले सार्वजनिक रुपमा पत्र लेखेर गरेको अपिलमा युवा बन्दीलाई अप्राकृतिक मैथुन गरिएको भनी उल्लेख गरिएको छ । जेलर शम्भु यादवको सहयोगमा कारागार भित्र रहेकी एक महिला बन्दीलाई चौकीदार विक्की सिंहले जेल बाहिर लगेर पटक–पटक यौन सम्पर्क राखेको र गर्भवती समेत बनाएको आरोप लगाइएको छ । चौकीदार सिंह संगै सह–चौकीदार बिनोद यादव , नाइके जय बाबु सिंह , मसिर देवान, राम नरेश यादव , सह नाइके जितेन्द्र कुशवाहा सहित ७ जनालाई जेल प्रवेश गर्नमा समेत रोक लगाएको छ । सातै जनालाइ अन्यत्र सरुवा गर्न माग गर्दै जेल भित्र विद्रोह गरिए पनि कारागार प्रसाशनले अहिले सम्म कुनै प्रतिक्रिया देखाएको छैन ।
जेलर शम्भु यादवले कारागार व्यवस्थापन ऐनमा जघन्य प्रकृतिको कैदीलाई चौकीदार नबनाउने प्रावधान रहेपनि विक्की सिंहलाई जिम्मेवारी दिएको स्वीकार गरेका छन् । जेलर यादवले हाल कारागारमा उत्पन्न भएको तनावका कारण विक्की सिंह पक्षलाई अन्य कारागारमा सरुवा गर्ने तयारी भइरहेको बताएका छन् । विवाद भएको दुई मध्ये एक पक्षलाई रामेछाप कारागारमा पठाएपछि अहिले कारागारको अवस्था सामान्य रहेको उनले दाबी गरे ।


