अपडेट 
२०७८ मंसिर १३, सोमबार ०७:४५

विगत केही वर्ष देखि सिरहा र धनुषा जिल्लाका कतिपय सामाजिक अभियन्ताहरु र कमला नदी किनार क्षेत्रका सिरहा र धनुषाका केही नगरपालिकाहरु कमला नदीमा भईरहेका बालुवा र गिटी उत्खन्न कार्यको विरोध गर्दै यसको बचाउमा दत्त चित्त भएर लागेका छन तर यदाकदा संघीय सरकार र प्रदेश सरकारका केही निर्णयहरुका कारण यसमा समस्या पनि उत्पन्न हुने गर्दछ । चर्चा आए अनुसार प्रादेशिक सरकारले कमला नदी क्षेत्रमा गिटी उत्खनन् का लागि अथवा कमला नदीको पर्यावरणलाई क्षति पुग्ने खालको निर्माण कार्यको ठेक्का उत्तरी छिमेकी चीनका निर्माण कम्पनीलाई दिने सम्झौता गरेको छ यदि यस्तो सम्झौता भएको हो भने यो खारेज हुनु पर्दछ र यदि यस्तो सम्भावना छ भने यस्तो सम्झौता हुनु हुदैन । सबै क्षेत्र र सबै पक्षको सहयोग एवं समर्थनबाट मात्रै कमला नदीलाई जोगाउन सकिन्छ । प्रकृति र मानव जाति बीच अन्योनाश्रित सम्बन्ध रही आएको छ । यस अन्योनाश्रित सम्बन्धलाई कमजोर बनाउने काम भएको कारण पर्यावरण असन्तुलन उत्पन्न भएको छ । जल, जङ्गल र जमीनलाई प्रकृतिको मुख्य स्रोत मानिन्छ ।

यसको आवश्यकता सबैलाई हुन्छ तर यसको अनावश्यक र अत्याधिक दोहन भएमा यो कसैको पनि निजी तथा निहित स्वार्थलाई पूर्ति गर्न सक्दैन बरु बाढी, सुख्खा, अतिवृष्टि लगायतका प्राकृतिक विपदा भोग्न सबै बाध्य हुन्छन् । नेपालमा पर्यावरणीय असन्तुलनलाई रोक्ने अभिप्रायले विगत एक दशकदेखि राष्ट्रपति चुरे संरक्षण अभियान नै चलाईएको छ तर मानवता एवं समाजका शत्रु सावित भईरहेका तत्वहरु आफ्नो निहित स्वार्थपूर्तिका लागि न त आफ्नो न त सामाज र देशको नै चिन्ता गरिरहेका छन् । तराई क्षेत्रका नदीहरुबाट जथाभावी रुपमा गिट्टी र बालुवा निकाल्ने कामले तीब्रता पाएको छ । यसको दुष्प्रभाव यस क्षेत्रका नदीहरुमा र तटीय क्षेत्रका जनजीवनमा पनि परिरहेको छ । सिन्धुली जिल्ला हुँदै नेपालको सिरहा र धनुषा जिल्ला भएर बगिरहेको कमला नदीको दयनीय अवस्थाबाट चिन्तित र दुःखी यस क्षैत्रका केही जनप्रतिनीधि, सरकारी अधिकारी र सामाजिक अभियन्ताले विधिवत रुपमा “कमला बचाउ अभियान “ नै चलाएका छन् । यसको मुख्य उद्देश्य प्राकृतिक सम्पदाको दोहन माथि रोक लगाई पर्यावरणीय सन्तुलन कायम गर्नु र कमला नदी सुरक्षित राख्दै आफ्नो एवं आफ्नो भावी सन्ततिको भविष्यलाई सुरक्षित राख्नु पनि हो । सिन्धुलीबाट शुरु भई चुरे पर्वत श्रृखला हुँदै उदयपुर सिरहा र धनुषा तथा विहारका केही भूभाग हुँदै गंगा नदीमा विलीन हुने झण्डै १२४ किलो मिटर लामो यस कमला नदीको आफ्नो बेग्लै इतिहास र धार्मिक महत्व पनि रहेको छ । कमला नदीको अवैध उत्खनन्लाई रोक्ने मनसायले सक्रिय “कमला बचाउ अभियान’’ को सक्रियताले आफ्नो लक्ष्यलाई हासिल गर्न सक्ने विश्वास त्यसका अभियान कर्मीहरुको रहेको छ । पर्यावरण, वातावरण र कमला नदीको अस्तित्व जोगाउनको लागि अनवर तरुपमा अभियान जारी रहने तिनको प्रतिवद्धता रहेको देखिन्छ ।

अभिनयान कर्मीहरु कमला नदीको धार्मिक पहिचान र अस्तित्व सहित कमला नदी बचाउन सिरहा र धनुषाका जनता सित मात्रै होईन अपितु सिङ्गो देशवासीसित नै सहयोग, सदभाव, सहकार्य र समर्थनको अपेक्षा राखेका छन् । कमला नदीको किनारमा जंगल लगाउनुका साथै वन्यजन्तुलाई समेत पालनपोषण गर्ने खालको अवधारणा पनि अघि सारिएको छ तर कतिपय जनप्रतिनिधिहरु कै मिलोमतोमा रातारात अवैध तरीकाले नदीबाट उत्खनन् भईरहेकोमा अभियान कर्मीहरु दुःखी पनि देखिन्छन् । कमला नदीबाट सिरहा र धनुषाका हजारौ हेक्टर कृषि योग्य जग्गाहरुमा सिंचाई पनि भईरहेको छ । चुरेबाट निस्कने खहरे खोलाहरु हिँउदमा सुख्खा र वर्षायाममा बाढी ल्याउने गरेको तथा कटान डुबानको रुपमा तल्लो चुरेदेखि तराई–मधेस बोर्डर सम्म वर्षेनि जनधनको व्यापक क्षति हुँदै आएको छ । नदीमा भईरहेको उत्खनन् का कारण कमला नदीको सतह तटिए गाउँ भन्दा माथि उठिरहेकोले यस भूभागलाई र नदीलाई समेत मरुभूमि हुनबाट जोगाउन उपयुक्त प्रविधि, दक्ष जनशक्ति, आवश्यक बजेट र सरोकारवालाहरुको सहभागिता आवश्यक देखिन्छ । विगतका वर्षहरुमा तराई क्षेत्रका नदीहरुले बाढीमा मलिलो माटो पनि ल्याउने गर्दथो तर अचेल हानीकारक बालुवा मात्रै थुपार्ने गर्दछ तसर्थ बाढी आउँदा खेतमालागेको धानवाली पनि सखाप हुने डर रहन्छ । कमला नदीले गत वर्षको जोखिम पूर्ण बाढीले सिरहा र धनुषाको दक्षिणी भेगमा नदीको बाँध समेत क्षतिग्रस्त बनाई दिएको कारण जनजीवन समेत अस्तव्यस्त भएको थियो । सैकडौ परिवार घरवारविहीन भएर विस्थापित हुनु परेको थियो । “कमला बचाउ अभियानमा’’ लागेकाहरुले वर्षायाममा नदी नियन्त्रणको लागि पनि स्थानीय प्रशासन र प्राविधिकहरु सित ताकेता गर्दै आएका छन् । भारत सरकारको आर्थिक सहयोगमा विगतमा कमला नदीको नियन्त्रण कार्य सम्पन्न भएको थियो । नदीको नियन्त्रण कार्य हुनु मात्रै पर्याप्त हुँदैन यसको नियमित रेखदेख र समय समयमा मरम्मत संहार पनि भई राख्नु पर्दछ होईन भने तटबन्ध भत्किने डर रहन्छ । कमला नदीको तटबन्ध भत्किनको एउटा कारण यो पनि हुन सक्दछ । धनुषा र सिरहाको मुख्य सिमा भनिएको कमला नदीमा ठेकेदारहरुले जारी राखेको अवैध उत्खनन् कार्यका कारण कमला नदीको अस्तित्व नै खतरामा पर्न गएको छ ।

नदीमा अवैध तरिकाले गहिरो पोखरी नै बनाएर ग्राभेल उत्खनन् हुन थालेपछि कमला बचाउ अभियानमा लागेकाहरु यस कार्य माथि रोक लगाउन निकै तत्परता देखाएका हुन् । गणेशमान चारनाथ नगरपालिका क्षेत्रमा कमला नदीमा यो उत्खनन् अत्याधिक देखिएको छ । अभियान कर्मीहरुले आफ्नो तर्फबाट संघीय सरकारलाई पटक पटक आग्रह गरेर कोशी कमला डाइभर्सन र चुरे संरक्षणको निम्ति ध्यानाकर्षण गराउदै आएका छन् । सिरहाको कमला, धनुषाको जनकनन्दिनी र शहिद नगरपालिका कमला बचाउ अभियानमा सक्रिय रुपमा लागेको देखिन्छ । कमला नदीमा अवैध तरिकाले दोहन गर्ने तश्कर क्रसर व्यापारीलाई कानुन मार्फत कारवाहीको परिधि भित्र ल्याउनु आवश्यक देखिन्छ । क्रसर उद्योगले निकट भविष्यमै तराई मधेशको जनजीवनलाई अस्तव्यस्त पार्ने निश्चित छ । जसरी सिरहा र धनुषाका जनप्रतिनिधि, अभियान कर्मी र वुद्धिजीवी वर्गले कमला नदीको चिन्ता गर्दै एउटा सशक्त अभियान नै चलाएका छन् । त्यसरी बागमती, बकैया र नेपालका अन्य नदीको किनारमा बस्नेहरुले पनि अभियान चलाउनु आवश्यक छ । व्यक्ति तथा संघ सस्था, सरकारी तथा नीजि निकायहरुले आफ्नो साझा सरोकार कसरी संयुक्त रुपमा निर्णय गर्छन तिनको व्यवस्थापन कसरी गर्छन ? भन्ने प्रकृया नै शासन हो । चुरे क्षेत्र वन सम्बन्धि अथवा नदी नियन्त्रण र पर्यावरण सँग जोडिएका विषयमा नीति निर्धारण गरिदा मध्य र दक्षिण भेगका सरोकारवाला जनताको पीडालाई पनि सम्बोधनगर्ने काम हुनु पर्दछ । समयमै चुरे क्षेत्रको संरक्षण र व्यवस्थापन गरिएन भने यसले प्रभावित घर परिवारको जिविकोपार्जनमा असर पु¥याउनेछ । चुरे तथा तराई मरुभूमिकरणको दिशामा अग्रसर छ । बालुवा पाँगो माटोको स्रोत चुरे श्रृखला हो । यस क्षेत्रमा रहेका प्राकृतिक स्रोतलाई क्षमता भन्दा बढी निकाल्नाले यसको क्षमतामा ह्रास आईरहेको छ ।

तसर्थ यो सामाजिक मान्यता र अधिकार सम्बन्धि विषय पनि हो । क्षमता भन्दा बढी स्रोत साधन निकाल्ने कार्यका कारण वनबाट बनस्पतिहरु सखाप हुँदै गएका छन् । जसले गर्दा आकाशे पानीको मात्रा घटिरहेको छ । उब्जाउ बहु मूल्य कृषि योग्य जग्गा तथा तराईका बसोबास क्षेत्रहरुमा नदी कटान तथा बालुवा जम्मा भई व्यापक क्षति भईरहेको छ । यसलाई रोक्ने काम भएन भने तराई मरुभूमि बन्न सक्छ, यदि वनविनाशलाई रोक्न सकिएन भने अनुत्पादनशील बगरको रुपमा त यो अहिले नै परिणत भईसकेको छ । कमला बचाउ अभियानमा लागेकाहरुले सराहनीय प्रयास गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News