सप्तरी । जिल्ला निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई लक्षित गरी मतदाता संकलन गर्ने भएको छ ।
सो क्रममा जिल्लामा मतदाता नामावली संकलन मंसिर १७ देखि सुरु हुने निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । सोमबार सदरमुकाम राजविराज स्थित नगरपालिकाको सभाकक्षमा एक कार्यक्रमको आयोजना गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन सम्बन्धी जानकारी गराएको हो । फोटोसहितको मतदाता नामावली संकलन २०७८ अन्तरगत संचालन हुने कार्यक्रम सम्बन्धमा जिल्ला स्तरमा सरोकारवालाहरुसँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले मंसिर १७ देखि गाउं– गाउंमा मतदाता नामावली संकलन गर्ने टोली परिचालन गरिने जानकारी दिए । पहिलो चरणमा मंसिर १७ देखि पुस २५ सम्म जिल्लाको सबै नगरपालिका तथा तिरहुत र अग्निसाइर कृष्णसवरण गाउंपालिकामा प्राविधिक टोली खटाएर मतदाता नामावली संकलन गरिनेछ । त्यस्तै दोश्रो चरणमा पुस ४ गतेदेखि पुस २५ सम्म बाँकी रहेका अन्य सबै गाउंपालिकामा टोली पुग्ने निर्वाचन अधिकारी जोशीले बताए । हरेक स्थानीय तहमा प्रमुख नाम दर्ता अधिकारीको नेतृत्वमा तालिम प्राप्त कर्मचारी र प्राविधिक सहितको टोली पठाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिएको र यसका लागि आवश्यक पर्ने कर्मचारी करारमा राखिएको उनले जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, जनता समाजवादी पार्टीका केदार यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सुनिल झा, नेकपा माओवादी केन्द्रका बिनोद यादव, जनमत पार्टीका परमानन्द माली, लगायतले पनि विभिन्न सुझाव दिँदै मतदानका लागि उमेर पुगेका र योग्य मतदाताको मतदान अधिकार सुनिश्चित गर्न थालिएको मतदाता नामावली संकलन कार्यमा गाउं–गाउं पुग्ने टोलीलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । सप्तरीमा २०७७ पुस ५ सम्ममा १ लाख ८६ हजार ९ सय ४७ पुरुष तथा १ लाख ७० हजार ८ सय ३७ गरी कूल ३ लाख ५७ हजार ७ सय ८४ मतदाता छन् । त्यसपछि हालसम्मको अवधिमा तेश्रोलिङ्गी २१ सहित राजविराज, कंचनरुप र बोदेबरसाइन नगरपालिका स्थित प्रशासन कार्यालयमा थप १७ हजार मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।


