नेकपा माओवादी केन्द्र सप्तरीमा आन्तरिक विवाद चुलिएको छ । दुई पक्षमा विभाजित सो पार्टीका नेताले धमाधम छुट्टाछुट्टै गाउं र नगर अधिवेशन गरी नयां नेतृत्व चयन गर्न थालेपछि विवाद चुलिंदै गएको हो ।
दुइ पक्षीय विवादको कारण कार्यकर्ताहरु भने अलमलमा परेका छन् । एक पक्षको नेतृत्व पूर्वमन्त्री समेत रहेका जिल्ला अध्यक्ष उमेश कुमार यादवले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अशोक कुमार मण्डल “अमर” ले गरिरहेका छन् । विवादकै बीच दुबै पक्षले आ–आफ्नो समर्थक र स्थानीय नेता कार्यकर्तालाई राखेर कमिटी गठन गर्ने क्रम धमाधम जारीरहेको छ । सदरमुकाम राजविराजको नगर कमिटीमा अध्यक्ष यादवले केदार देवको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ भने केन्द्रीय सदस्य एवं इन्चार्ज मण्डलले राममगन साहको अध्यक्षतामा राजविराज नगर कमिटी गठन गरेको छ । त्यसैगरी यादव पक्षले हनुमाननगर कंकालिनी नगरपालिकाको नगर कमिटीको अध्यक्ष पदमा राजकुमार मण्डल, तिरहुत गाउंपालिकामा कपलेश्वर सरदार, महदेवा गाउंपालिकामा सुरेन्द्र यादव, कंचनरुप नगरपालिकामा सत्यनारायण चौधरी, विष्णुपुरमा बलराम यादव, राजगढ गाउंपालिकामा कलामुद्दिन खाँ, छिन्नमस्ता गाउंपालिकामा तेजनारायण यादव, शम्भुनाथ नगरपालिकामा अनिल भगत, खडक नगरपालिकामा जयप्रकाश चौधरी र डाक्नेश्वरी नगरपालिकामा कर्मलाल यादवको अध्यक्षतामा अधिवेशन मार्फत नयां कार्यसमिति गठन गरिएको छ । यस्तै केन्द्रीय सदस्य एवं जिल्ला इन्जार्च मण्डल पक्षधरले हनुमाननगर कंकालिनी नगरपालिकामा राहुल मण्डल, तिरहुत गाउंपालिकामा विशेश्वर यादव, महदेवा गाउंपालिकामा मनोज यादव, कंचनरुप नगरपालिकामा रामबिहारी राउत, विष्णुपुर गाउंपालिकामा रामकुमार राम, राजगढ गाउंपालिकामा विशेश्वर प्रसाद यादव, छिन्नमस्ता गाउंपालिकामा जयप्रकाश यादव, बलानबिहुल गाउंपालिकामा महेन्द्र यादव, रुपनी गाउंपालिकामा सिंहेश्वर प्रसाद साह र शम्भुनाथ नगरपालिकामा गणपति साहको अध्यक्षतामा छुट्टा–छुट्टै कार्यसमिति गठन गरिएको छ ।
तिलाठी कोइलाडी गाउंपालिकामा भने दुबै पक्षले सर्वसम्मतिबाट मुनिलाल मुखियाको अध्यक्षतामा नयां कार्यसमिति गठन गरेका छन् । दुबै पक्षले एक अर्काको अधिवेशनलाई अबैधानिक भन्दै आ–आप्mनो समिति नै आधिकारिक र बैधानिक रहेको दाबी गर्दै आएका छन् । जिल्ला अध्यक्ष यादवले भने,‘पार्टीको केन्द्र र प्रदेश समितिको निर्णय अनुसार गाउं र नगर अधिवेशन मार्फत कमिटी गठन गरिएकाले सो कमिटी नै आधिकारिक हो ।’ उनले इन्चार्जलाई सांगठनिक अधिकार नहुने जिकिर गर्दै क्षेत्राधिकार नाघेर पार्टी विरोधी गतिविधि गर्नेलाई अनुशासनको कारवाही हुनु पर्ने धारणा समेत राखे । यता केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मण्डलले आफूहरु पनि केन्द्र र प्रदेशको नीति निर्देशन अनुसार नै पर्यवेक्षक, निर्वाचन समितिका प्रतिनिधि र प्रदेश २ को पदाधिकारीको उपस्थितिमा गाउं र नगरको अधिवेशन मार्फत नयां कार्यसमिति चयन गरेकाले आफूहरुद्वारा गठित समिति नै आधिकारिक र बैधानिक रहने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्र प्रदेश २ समितिका सदस्य महेश यादवले केन्द्रबाट अविनाश सिंहको नेतृत्वमा खटिएको निर्वाचन समितिको रोहबरमा भएको अधिवेशन नै आधिकारिक हुने बताए । उनले गाउं र नगर अधिवेशनमा खटिएका प्रतिनिधिलाई निर्वाचन समितिले दिएको पत्र र त्यसैको आधारमा गराइएको अधिवेशन नै मान्य हुने प्रस्ट गरेका छन् ।


