लामो समयको प्रतिक्षा पछि जनता समाजवादी पार्टी मधेश प्रदेशमा रामबाबु कुमार यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
जसपाले अंगीकार गरेको एक व्यक्ति एक पदको अवधारणा अनुसार कृषि मन्त्री बिजय यादवले राजिनामा दिएपछि प्रदेश समितिको विस्तारकोलागि बातावरण बनाइएको थियो । अध्यक्ष लगायत अन्य पदाधिकारीहरुमा बढी आकांक्षी देखिएपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समिति निर्माणको जिम्मेवारी दिइएको थियो । जसपाले महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारवाही गरेपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा जाने कि जसपामै बस्ने निर्वाचन आयोगले दिएको समयअवधिमा जसपालाई रोजेकाहरुको समायोजन गर्नकालागि मधेश प्रदेश समिति २ सय ३ सदस्यीय बनाइएको थियो । जसपाको विधानमा १ सय ५१ सदस्यीय प्रदेश समिति रहने प्रावधान छ । तर, त्यसलाई पनि घटाएर १ सय २५ सदस्यीय प्रदेश समिति बनाइने जनाइएको छ । मधेश प्रदेश समितिमा अहिले अध्यक्ष, उपाध्यक्ष, मुख्यसचिव, सचिव र कोषाध्यक्ष मात्रै चयन गरिएको र छिट्टै समितिलाई पूर्णता दिइने उपाध्यक्ष शेषनारायण यादवले जानकारी दिएका छन् ।
अहिले उपाध्यक्षमा चार जना रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, वृजमोहन तिवारी र रामसेवक यादवलाई चयन गरिएको छ । त्यसैगरी समितिको मुख्य सचिवमा दिनेशकुमार यादव, सचिवमा युसुफ अली, निरा साह तथा शैलैशकुमार साहलाई चयन गरिएको छ भने कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको जनाइएको छ । समायोजनको बेलामा प्रदेश सदस्य बनेकाहरु मध्ये ७८ जना भने असन्तुष्ट हुने भएको छ । ७८ जना प्रदेश सदस्यहरुलाई प्रदेश परिषदमा राख्ने उपाध्यक्ष यादवले जानकारी दिएका छन् । विधानमा रहेको १ सय ५१ सदस्यीय समितिलाई समेत संशोधन गरी १ सय २५ मा ल्याइने र बाँकीलाई प्रदेश परिषदमा राख्ने भए पनि प्रदेश परिषद कतिको चलायमान संगठन हुन सक्छ भनि नेता कार्यकर्तामाझनै चर्चाको विषय बनेको छ ।


