गरुडा । वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् ।
बलपूर्वक मधेशी जनताको भावना विपरीत पारित गरिएको संविधान ओलीकै कारण अधुरो रहेको मन्त्री यादवले बताए । रौतहटको दुर्गाभगवती गाउंपालिका–४ पंचरुखी छतौनामा बुधवार सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री यादवले एमाले अध्यक्ष ओली मधेश विरोधी रहेको आरोप लगाए । ओलीले कुनै हालतमा अधुरो संविधान संशोधन गरी मधेशी, थारु, आदिवासी, जनजाति, मुस्लिम लगायतको अधिकार दिन नचाहेको उनले धारणा राखे । ओलीलाई मधेशी जनता विरोधी खलपात्रको रुपमा रहेको टिप्पणी गर्दै उनले भने,‘ओलीकै कारण संविधान संशोधन हुन सकेको छैन।’ संविधान संशोधन गरी मधेशी समुदायको अधिकार दिलाउने सर्तमै जसपा अध्यक्ष उपेन्द्र यादव केपी शर्मा ओलीको सरकारमा सहभागी भएको भएपनि ओलीले संविधान संशोधन गर्न नचाहेको कारण पार्टी अध्यक्ष यादवले ओलीलाई दिएको समर्थन फिर्ता लिएको उनले प्रष्ट पारे । २०७२ सालमा जारी गरिएको संविधानमा मधेशी, थारु, जनजाति, मुस्लिम एवम् शोषित वर्गको हक अधिकार पूर्ण रुपमा स्थापित गर्न नसकिएको कारण संशोधन गर्नु पर्ने आवश्यकता उनले औंल्याए । मधेशमा आउंदा ओलीले एमाले नै मधेशी जनताको हक अधिकारको लागि लड्ने पार्टी हो भन्दै मधेशी जनतालाई झुठो आश्वासन दिएर ठग्ने काम मात्र गर्ने गरेकोले ओलीको कुरामा विश्वास नगर्न उनले आग्रह गरे । एमाले अध्यक्ष ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरी मधेश आन्दोलन सहितका विभिन्न संघर्षको बलमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं संघीयतालाई समाप्त पार्ने षडयन्त्र गरेको मन्त्री यादवले आरोप लगाए ।
ओलीले संघीयतालाई समाप्त पार्ने गरेको षड्यन्त्रलाई पांचदलीय गठबन्धनले जोगाइ दिएको बताउंदै उनले संघीयतालाई समाप्त पार्ने ओलीको षड्यन्त्र पूर्णतः असफल भएको बताए । हजारौ जनताको सहादतको बलमा आएको संघीयतालाई समाप्त पार्ने षड्यन्त्र गर्ने ओलीलाई नेपाली जनताले अहिले सडकमा पु¥याइदिएको उनले जिकिर गरे । घुँडा टेकेर महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताले मधेस विरोधी ओली सरकारमा सहभागी भएकाले अबको मधेसी पक्षधर को हो भन्ने कुरामा स्पष्ट हुन उनले आग्रह गरे । एक अर्को प्रसंगमा वन मन्त्री यादवले जलवायु परिवर्तनले मुलुकमा ल्याएको संकटको बारेमा चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनका कारण पुरै विश्व नै संकटमा परेको उल्लेख गर्दै मन्त्री यादवले यसको न्यूनीकरणकालागि वातावरण जोगाउने तर्फ लाग्न सबैलाई आग्रह गरे । विश्वमै तापक्रम बढ्दै गएको कारण जलवायु परिवर्तनका घटना बढदै गएको बताउँदै उनले जलवायुले निम्त्याएको प्रदुषण फैलिएर जनस्वास्थ्यमा गम्भीर असर परेको बताए । जलवायु परिवर्तनलाई रोकथाम तथा नियन्त्रण गर्न वातावरण जोगाउन एवं पर्यावरणलाई स्वच्छ एवं सन्तुलित कायम राख्नु पर्नेमा उनले जोड दिए । प्रदेश २ को शिक्षाको अवस्था दयनीय ः मन्त्री यादव रौतहट । वन तथा वातावरण मन्त्री रामसहाय राय यादवले शिक्षाको विकास नभएसम्म प्रदेश २ को विकास हुन नसक्ने बताएका छन् । रौतहटको राजदेवी नगरपालिका–७ मुडवलमा रहेका नेमधारी वासुदेव नमूना माध्यमिक विद्यालयको बुधबार स्थलगत अनुगमन निरीक्षणको क्रममा मन्त्री यादवले सो कुरा बताए । ‘देशभरिमै प्रदेश २मा शिक्षाको अवस्था अत्यन्त कमजोर छ , दयनीय छ । ’,उनले भने ।
मन्त्री यादवले शिक्षामा लगानी गर्ने सोचको अभावको कारण यस्तो अवस्था सृजना भएको उल्लेख गरे । शिक्षा बिना मानवको जीवन अधुरो हुनेभएकोले शिक्षालाई प्राथमिकतामा राखेर लगानी गर्न स्थानीय सरकारलाई उनले आग्रह गरे । प्रदेश २ मा शिक्षाको अवस्था दिनप्रति दिन खस्किंदै गएको प्रति उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा प्रदेश सांसद राम किशोर राय यादवले विद्यालयले भौतिक पूर्वाधार र अध्यन अध्यापनमा निकै अगाडि बढेकोले यस विद्यालयबाट सबैले शिक्षा लिनु पर्ने धारणा राखे । शिक्षा र भौतिक पूर्वाधार विकास निर्माणमा फड्को मार्न सफल नमूना विद्यालय मुडवलबाको विद्यालय भवन , विद्यार्थीहरुको बसाइ , पोशाक , शैक्षिक सामग्री व्यवस्थापन , प्रयोगशालाको अवस्था तथा अध्ययन– अध्यापनको बारेमा अध्ययन अवलोकन गर्ने उद्देश्यले मन्त्री यादव सहितको टोलीले विद्यालयको निरीक्षण गरेका थिए । अनुगमनको क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादव, गौर नगरपालिकाका उपमेयर किरण ठाकुर, पूर्व संविधान सभा सदस्य रम्भा देवी यादव लगायतको सहभागिता थियो । सो विद्यालयमा १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।


