अपडेट 
२०७८ मंसिर १७, शुक्रबार ०६:३०

जनकपुरधाम । प्रदेश २ मा दिनानुदिन आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि हुंदै गएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक अनुसार प्रत्येक दिन करिब तीन जनाले आत्महत्या गर्ने गरेका छन् । चालु आर्थिक वर्षको मंसिर १५ गतेसम्म प्रदेशभरि २ सय ६१ जनाले आत्महत्या गरेका छन् भने गत आर्थिक वर्ष २०७७÷०७८ मा ९ सय ५९ जनाले आत्महत्या गरेको छ । डेढ वर्षको अवधिमा सब भन्दा बढी सिरहा जिल्लामा २ सय १२ जनाले आत्महत्या गरेका छन् भने धनुषामा २ सय ४, बारामा १ सय ८६, रौतहटमा १ सय ४५,पर्सामा १ सय ४३, सप्तरीमा १ सय ३५,महोत्तरीमा १ सय २२ जनाले आत्महत्या गरेको देखिएको छ । प्रदेशको सर्लाही जिल्लामा सबभन्दा कम ७५ जनाले आत्महत्या गरेको कार्यालयका सूचना अधिकारी अभयकुमार झाले जनाए । विश्व स्वास्थ्य संगठनले नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा आत्महत्याको घटना बढी हुने गरेको बताउंदै आएको छ । मानसिक तनाव, आर्थिक असूरक्षा,वैदेशिक रोजगारी लगायतका विभिन्न कारणहरुले आत्महत्या गर्नेहरुको संख्या बढेको प्रहरी नायब महानिरीक्षक उमेश रञ्जीतकार बताउंछन् । खासगरी युवाहरुमा भविष्यप्रतिको निराशा, वैवाहिक सम्बन्धमा आएको समस्या, जनचेतनाको अभावले गर्दा पनि आत्महत्याको घटना हुने गरेको प्रनामनि रञ्जीतकार स्पष्ट गर्छन् ।

आत्महत्यामा दुरुत्साहन गरेको भन्दै कानूनमै सजायको व्यवस्था भएपनि थोरै घटनामा मुद्दा दर्ता हुने गरेको छ । डा.विजय कुमार सिंहका अनुसार अधिक आत्महत्याको घट्ना सामाजिक सुरक्षाको अभावकै कारण हुने गरेको छ। आत्महत्यालाई मानसिक रोग भन्दा पनि ‘कमजोर मन भएकाहरूले चाल्ने कदम’ भएको दृष्टिकोण समाजमा व्याप्त हुनु ठूलो समस्या रहेको बताउंदै उनि भन्छन्,‘गास,वास र कपासको अभावमा मात्र होइन,घरेलु हिंसा,वैदेशिक रोजगारीको कारण उत्पन्न समस्या लगायतका सामाजिक समस्याले प्रदेशमा आत्महत्याको घटना बृद्धि भएको छ ।’ आत्महत्या गर्न लागेको व्यक्तिलाई बुझ्ने र सहयोग गर्ने नत्र दुर्घटना हुनसक्छ भन्नेबारे जनचेतनाको अभावमा समेत घटना हुने गरेको डा.सिंहको धारणा छ । कहिले काँहि अन्धविश्वासका कारण पनि आत्महत्याको घटना हुने गरेको बताउंदै उनी भन्छन्,‘पछिल्लो समयमा यस प्रति समाजमा केही चासोहरू बढे पनि श्रोत साधन र सेवाहरू पर्याप्त छैनन् ,साइको–सोसल सपोर्टको चरम अभाव छ ।’ सरकारी स्तरबाटै आत्महत्या रोकथामको लागि विशेष कदम चाल्नु पर्नेमा डा.सिंहले जोड दिए ।

एक तथ्यांक अनुसार देशभर दुई सयको हाराहारीमा मनोचिकित्सक रहे पनि सरकारी अस्पतालहरूमा जम्मा एक दर्जनले सेवा दिइरहेको र त्यो पनि राजधानी काठमाण्डु केन्द्रित नै रहेको पाइएको छ । कोभिड–१९ को कारण समेत सामाजिक असुरक्षामा बृद्धि भएकाले समेत आत्महत्याको घटना बढाएको हुन सक्ने बताउंदै उनले भने,‘ अब त संघीय सरकारकै भरमा मात्र होइन यस्ता सामाजिक समस्याको निराकरणको लागि प्रदेश र स्थानीय सरकार समेत चनाखो हुनु पर्छ । ’ परिवार र साथीभाइ चनाखो भइ आत्महत्या गर्ने व्यक्तिहरूलाई सुरुमा नै सहयोग गर्ने वातावरण निर्माण गर्न सकिए दुर्घटनाबाट जोगाउन सकिने मनोचिकित्सकहरुको भनाइ छ । नेपालमा दिनकै १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

https://www.youtube.com/watch?v=xNBK3xiGYD4

Comment


Related News