जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ट्रेड युनियन संगठित शक्ति रहेको बताएका छन् ।
उनले ट्रेड युनियन अन्य शक्ति भन्दा बढी शक्तिशाली रहेको बताए । ट्रेड युनियन महासंघको प्रशिक्षण कार्यक्रमलाई शनिवार जनकपुरधाममा सम्वोधन गर्दै अध्यक्ष यादवले विश्वमा ट्रेड युनियनको मुख्य लक्ष्य मजदुरलाई प्रोमोट गर्नु, संरक्षण गर्नु र मजदुरमा सुधार ल्याउनु रहेको बताए । उनले नेपालका मजदुरहरुको दुई पक्ष थपिए र संघर्षशील र सामाजिक पक्ष थपि पाँच लक्ष्य रहेको बताए । नेपालको ठूल–ठूला आन्दोलनहरुमा मजदुरहरुले खेलेको भूमिकाको प्रसंसा गर्दै उनले २००७ सालमा राणाहरुका सेनालाई विराटनगरमा मजदुर हरुले पराजित गरेको उल्लेख गरे । नेपालमै मजदुरहरुको नेता भएर प्रधानमन्त्री सम्मको यात्रा धेरैले तय गरेको तर, मजदुरहरुको अवस्थामा भने सुधार नआएको उनले दुःखेसो पोखे । ‘गिरिजाप्रसाद कोइराला, भरतमोहन अधिकारी मजदुरका नेता थिए’ उनले भने , प्रधानमन्त्री पनि बने तर, मजदुरको अवस्थामा भने सुधार आउन सकेन ।’ अध्यक्ष यादवले रसिया, अमेरिका, भारतको स्वतन्त्रता संग्राममा समेत मजदुरहरुको संगठनले धेरैनै महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । उनले नेपालमा ट्रेड युनियनलाई त्यति महत्व नदिइएको भन्दै उनले ट्रेड युनियनको भूमिका कुनै राजनीतिक दल भन्दा कम नरहेको बताए ।
जसपाले संगठनलाई मजदुर, पिछडावर्ग लगायतमा विस्तार गर्न थालेको छ । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव लगायतका नेताहरुले धारणा राखेका थिए ।