२०७८ मंसिर १९, आईतवार ०८:१७

जनकपुरधाम । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनकालागि संघीय सरकारवाट प्रतिवद्धता व्यक्त गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सीताराम विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले शनिवार काठमाण्डूमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरका रूपमा रहेको जानकी मन्दिरलाई जतिसक्दो छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आफूले भरपूर प्रयास गर्ने बताए । विश्वभरका हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहे पनि त्यसले मूर्तरूप लिनसकेको छैन । मैथिल सभ्यताका अगुवाहरूले जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल गर्दै आइरहेका छन् । जनकपुरधाममा जानकी मन्दिरमा भगवान् श्रीरामको जन्मका अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा सीताराम विवाह महोत्सव लगायतका विविध सांस्कृतिक उत्सव हुँदै आएको छ ।

यही मङ्सिर २२ गते विवाह पञ्चमी परेको छ । तीन वर्ष अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह पञ्चमीका दिन जानकी मन्दिरको पूजाअर्चना गरेका थिए । द्वापर युगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाका राजा जनककी सुपुत्री जानकीको विवाह भएको दिनलाई विवाह पञ्चमीका रूपमा धुमधामका साथ मनाइन्छ । विवाह पञ्चमीका दिन जनकपुरधाममा विशेष मेला लाग्ने गर्छ । विवाह पञ्चमीका दिन भारतबाट लाखौँ भक्तजन जनकपुरधामको जानकी मन्दिर दर्शनका लागि आउने गरेका छन् । मन्त्री आलेले हजारौँ वर्ष पुरानो मिथिला सभ्यता कला, सङ्गीत, भाषा, भेषभूषाका रूपमा निकै धनी रहेको उल्लेख गर्दै जानकी मन्दिरको संरक्षण र विकासमा सक्दो सहयोग गर्ने बताए । ‘ जानकी मन्दिरको सौन्दर्यकरण, संरक्षण र विकास निर्माणमा संस्कृति मन्त्रालयको पूर्ण सहयोग रहन्छ’, उनले भने । सो अवसरमा मन्त्री आलेले मिथिला संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए । कार्यक्रममा समाजका पदाधिकारीले प्रदेश नं २ का पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरेका थिए ।

Comment


Related News

Latest News

Trending News