माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरको माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा आफ्नो मान्छे जिताउन प्रधानाध्यापक राजेश यादवले दर्जनौ फर्जी विद्यार्थीको नामांकन गरेको खुलाशा भएको छ ।
३ वर्षको मात्र एक छात्रा ४ कक्षामा अध्ययनरत रहेको विद्यालयको रजिष्टरमा फेला परेपछि प्रधानाध्यापक यादवले फर्जी नाममा दर्जनौ विद्यार्थीको नामांकन गरेको खुलाशा भएको हो । मात्र ३ वर्षको बादल कुमारी भण्डारी नामको छात्रा कक्षा ४ मा अध्ययनरत रहेको पाइएको छ । गत शैक्षिक सत्रमा कक्षा ३ मा पढेकी बादल कुमारी यस वर्ष ४ कक्षामा अध्ययनरत रहेको विद्यालयको रजिष्टरमा उल्लेख छ । भण्डारी त प्रतिनिधि पात्र रहेको बताउंदै मानपुरका वडा अध्यक्ष रामदेनी मुखियाले प्रअ यादवले व्यवस्थापन समितिमा आफ्नो मान्छे जिताउन यस्ता दर्जनौ फर्जी नामलाई विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको आरोप लगाए । प्रअ यादवले मंसिर २३ गते हुन लागेको व्यवस्थापन समितिको निर्वाचनमा अध्यक्ष पदमा आप्mना पक्षधरका व्यक्तिलाई जिताउनका लागि विद्यार्थीको बहुमत पु¥याउन हतार गर्दै फर्जी विद्यार्थी भर्ना गरेको वडा अध्यक्ष मुखियाको आरोप छ । आफ्ना पक्षका विद्यार्थीको संख्या धेरै भए मत पनि बढने र अध्यक्षमा जित्न सहज हुने भएकोले बिना जन्मदर्ता एवं अभिभावकलाई जानकारी नदिइकनै मनोमानी तरिकाले प्र अ यादवले विद्यालयमा नक्कली विद्यार्थी भर्ना गरेको उनले बताए । यता प्रअ यादवले आफु २०७८ बैशाखमा हाजिर भएको र हाजिर भएदेखि कुनै पनि फर्जी विद्यार्थीलाई भर्ना नगरेको दाबी गरे ।
फर्जी भनिएका उक्त विद्यार्थीहरुको नाम २०७७ साल भन्दा अघि नै दर्ता भएकोले यस सम्बन्धमा आफूलाई केही जानकारी नै नरहेको बताए ।


