अपडेट 
२०७८ मंसिर २०, सोमबार ०७:२२

गरुडा । प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटका छात्रालाई आइतबार साइकल वितरण गरेका छन् ।

राज्य मन्त्री यादवले जिल्लाको माधवनारायण नगरपालिका–३ सखुवाको देवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेका हुन् । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रम बीच ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सो साइकल वितरण गरिएको हो । छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्न साइकल वितरण गरिएको राज्य मन्त्री यादवले बताए । बालविवाह अन्त्य गर्न तथा छात्राहरूको मनोबल उच्च बनाउन कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको उनले जानकारी दिए । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सार्थक बनाउन साइकल वितरण गरिएको बताउंदै मन्त्री यादवले साइकल वितरणले छात्रालाई पढाइ प्रति आकर्षण बढ्ने र छात्रालाई विद्यालयमा समेत टिकाइ राख्न सहयोग पुग्ने बताए । ‘तराईका मधेसी समुदायमा छोरीलाई पनि छोरा सरह पढाउनुपर्छ भन्ने सोच निकै कम छ,’ उनले भने, ‘त्यसैले, अभिभावकले छोरीलाई हत्तपत्त विद्यालय नै पठाउँदैनन् । तर, साइकल पाएपछि उनीहरूलाई छोरीलाई पनि विद्यालय पठाउन कर लाग्छ ।’ छात्रालाई साइकल वितरण अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनले बताए ।

Comment


Related News

Latest News

Trending News