जनकपुरधाममा आइतवार सीताराम विवाह महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइएको छ ।
त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आइतवार रामको प्रतिकात्मकरुप धारण गरेका बालबालिकाले पनि धनुष भाँच्ने अर्थात् धनुषयज्ञ कार्यक्रम गरेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए । रामायणमा वर्णन गरिएअनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए । राजा जनकले धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेकाले धनुषयज्ञमा चौतर्फी रुपमा दर्जनौं शक्तिशाली र बलबान राजा महाराजा र राजकुमार सहभागी भए पनि कसैले धनुष हल्लाउन सकेनन् । अन्त्यमा आयोध्याबाट आएका दशरथपुत्र रामले यज्ञमा राखिएक धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको थियो । धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ । सप्ताहव्यापी विवाह महोत्सवको पहिलो दिन नगरदर्शन र दोस्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ भने आइतवार धनुषयज्ञ मनाइएको छ । विवाहपञ्चमीक चौथो दिन सोमबार तिल्कोत्सव, मङ्गलबार मटकोर रहेको छ भने बुधबार मुख्य दिन विवाह महोत्सव रहेको छ । बिहीबार रामकलेवा गरी विधिवत् रुपमा विवाह महोत्सव समापन हुनेछ । त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष एक हप्तासम्म धुमधामले विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । गत दुई वर्षदेखि कोरोना महामारीले असर पारेको महोत्सवमा यस वर्ष धुमधाम साथ मनाउने तयारी रहेको मन्दिरका महन्थ बैष्णवले बताए । अहिले विवाह महोत्सवका अवसरमा जानकी मन्दिरलाई नवबेहुली झै सजाइएको छ, भने जनकपुरधाम नगर क्षेत्रलाई सरसफाइ गरी मुख्य चोकमा प्रवेश द्वार निर्माण गरिएको छ । महोत्सव हेर्न देशभित्र र भारतसहित तेस्रो मुलुकका पर्यटकको पनि उल्लेख्य सहभागिता देखिएको छ ।
सीताराम विवाहोत्सवमा दीपावली मनाउन आग्रह
जनकपुरधाममा जारी रहेको सीताराम विवाह महोत्सवको क्रममा जनकपुरधाममा तीन दिन सम्म दीपावली मनाइने भएको छ । गौ संरक्षण मंच नेपाल जनकपुरधामले महोत्सवलाई अझै आकर्षक बनाउन जनकपुरधाम नगर क्षेत्रमा मंसिर २१ देखि २३ गते सम्म घर–घरमा दीपावली मनाउन अनुरोध गरेको छ । विगत १७ वर्षदेखि मंचले सीताराम विवाह महोत्सवमा दीपावली कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ। आइतबार मंचले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘तीन दिन सम्म जनकपुरधामवासीले आ–आप्mनो घर आंगन,व्यापारिक प्रतिष्ठान,पसल,संघ–संस्था, क्लब,सरकारी तथा गैरसरकारी कार्यालय समेतमा दीप प्रज्जवलन गरी दीपावली मनाइ दिन हुन अनुरोध छ।’ मंचले दीपावलीलाई व्यापकता प्रदान गर्न प्रचार–प्रसार हेतु ७ सदस्यीय सीताराम विवाह महोत्सव दीपावली प्रचार प्रसार समितिको गठन पनि गरेको छ । मंचको आइतबार बसेको बैठकले संतोष कुमार साहको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरेको हो । गठित समितिको सह–संयोजकमा नागेन्द्र यादव तथा सदस्यहरुमा मोहन ठाकुर,चन्द्र साह,रंजु झा,निरु झा र संगीता ठाकुर रहेका छन् ।
ववाह महोत्सवमा सार्वजनिक विदा
जनकपुरधाम । प्रदेश २ सरकारले सीताराम विवाह महोत्सवमा सार्वजनिक विदा दिने भएको छ । मंसिर २२ गते जनकपुरधाममा हुन लागेको सीताराम विवाहोत्सवको अवसरमा विदा दिने प्रदेश सरकारले जनाएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबारबाट सुरु भएको सप्ताह व्यापी कार्यक्रम सीताराम विवाह महोत्सव अन्तर्गत बुधवार विवाहोत्सवको आयोजना हुने भएको छ । सोही अवसरमा सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णय अनुसार नै विवाहपञ्चमीमा सार्वजनिक विदा दिइएको हो । यसैबीच जनकपुरधाम उपमहानगरपालिकाले नगर भित्र रहेको सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । जनकपुरधाममा जारी विवाहपञ्चमी महोत्सवको अवसरमा मंगलबार देखि विहीबार सम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जनाए । आइतबार शाखा प्रमुखले सूचना जारी गर्दै विवाह महोत्सवको मेलाका कारण हुने भीडभाडलाई दृष्टिगत गर्दै पालिका भित्रका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ गतेदेखि २३ गतेसम्मका विदा दिने निर्णय गरिएको जनाएको छ ।


