सर्लाही । गोडैता नगरपालिकाले पालिका अन्तर्गत १२ वटा वडामा कार्यरत ९१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ ।
“स्वास्थ्य जीवन शैली हाम्रो आवश्यकता ,संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका“ भन्ने नाराका साथ आइतबार भगवतीपुर स्थित श्री जनता माद्यामिक विद्यालयमा आयोजित १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा कार्यक्रमका अध्यक्ष नगर प्रमुख देवेन्द्र कुमार यादवले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको स्वास्थ्य शाखाका संयोजक प्रमोद पंडितले जनाए । कार्यक्रममा वक्ताहरुले महिला स्वास्थ्य स्वयंसेविकाहरु घर–घरको डाक्टर रहेकोले स्वयंसेविकाहरुले दिने सेवा समाजको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । स्वयंसेविकाहरुले समुदायमा इमान्दारीपूर्वक सेवा दिँदै आएपनि राज्य पक्षले भने उनीहरुको सही मूल्यांकन गर्न नसकेको गुनासो समेत वक्ताहरुले गरे । यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरुले सरकारले उचित सेवा सुविधा नदिएको गुनासो गर्दै राज्यले स्वयंसेविकाहरुको कार्य मुल्यांकन गर्नु पर्ने माग अघि सारेका थिए । आफूहरुको कामको तुलनामा पाउने सुविधा निकै कम भएको भन्दै राज्यले वेवास्ता गरेको दुखेसो स्वयंसेविकाहरुले पोखे । उनीहरुले कार्यक्रम मार्फत टाढा रहेका ठाउंमा समयमा पुगेर छिटोछरितो सेवा प्रदान गर्न आफूहरुलाई साइकलको व्यवस्था गरिदिनु पर्ने माग पनि अघि सारेका थिए ।


