जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारले प्रदेशमा बजेटको लगानीमा बेइमानी गरिरहेको आरोप लगाएका छन् ।
महोत्तरीको लोहारपट्टीमा सोमबार आयोजित पार्टी प्रवेश तथा आमसभामा बोल्दै उनले भने,‘ सम्पूर्ण स्रोत र साधन केन्द्रकै हातमा छ । प्रदेशमा चार वटा गाडी दुइटा झण्डा बाहेक कुनै अधिकार छैन’ । ‘कूल बजेटको स्थानीय र प्रदेशमा २१ प्रतिशत बजेट संघीय सरकारले दिएको छ ’ उनले भने, त्यसमा स्थानीय निकाय र प्रदेशलाई छुट्यायो भने प्रदेश सरकारलाई जम्मा सात प्रतिशत बजेट हुन्छ । ‘लगानी जनसंख्याको आधारमा गरेपो विकास हुन्छ त ’ उनले भने । त्यसैले लगानीमा अहिले पनि ठूलै बेइमानी भइरहेको उल्लेखगर्दै विकासमा लगानीको निगरानी हुनुपर्नेमा जोड दिए । ‘बजेट विकासकै लागि खर्चिनु पर्यो बजेट आउंदा आउंदै बाटोमै कम हुनु भएन ।’ उनले बताए । त्यसकारण अधिकारको साथ–साथ विकास हुनुपर्नेमा उनले जोड दिए । ‘अहिलेको यो नाम मात्रको प्रदेश सरकारले केही पनि हुन सक्दैन्’ अध्यक्ष यादवले भने ,‘ प्रदेश सरकार बलियो हुनै पर्छ अन्यथा अहिलेकै अवस्थाको संघीयताले केही गर्न सकिन्न’। सयौं वर्षदेखि मधेशमाथि हँुंदै आएको शासनमा कमी आए पनि शासक वर्गले मधेशीको रगत चुस्ने काम केही कमजोर भए पनि समाप्त भइनसकेकोले सचेत रहन उनले आग्रह गरे ।
जसपाको जिल्ला समन्वय समिति महोत्तरीको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा समाजवादी, माओवादी केन्द्र लगायतका विभिन्न पार्टीबाट भारी संख्यामा कार्यकर्ताहरु जसपामा प्रवेश गरे । नवप्रवेशीहरुलाई जसपा अध्यक्ष यादव , नेता एवम् प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्व मन्त्री राजकिशोर यादव, युवा नेता नवीन यादव सहितले माला र गमछा लगाएर स्वागत गरे ।


