सप्ताहव्यापी सीताराम विवाह महोत्सव अन्तर्गत सोमवार जनकपुरधाममा तिलकोत्सव ‘सम्धी मिलन’ सम्पन्न भएको छ ।
त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाह महोत्सव अन्तर्गत सोमवार तिलकोत्सव विधि गरिएको हो । राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर राम मन्दिरमा पुगेको जानकी मन्दिरका उतराधिकारी महन्थ राम रोशन दास बैष्णवले जानकारी दिएका छन् । प्रत्येक वर्ष विवाह महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थले प्रतिनिधित्व गर्दै आई रहेका भएपनि यस पटक उतराधिकारी महन्थ राम रोशन दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्दै आइ रहेका राम मन्दिरका महन्थ राम गिरीले यस पटक पनि अंकमाल गर्दै सम्धी मिलन गरेका थिए । दुई महन्थ अंकमाल गर्ने कार्यलाई मिथिलामा सम्धी मिलन भन्ने गरिन्छ । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य परिहास समेत भएको थियो । जानकी मन्दिरबाट फलफूल, मिष्ठान्न परिकार लगायतका सयौँ पाहुरका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणनमा पुगी तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । तिलकोत्सव प्रत्येक वर्ष झै यस वर्ष पनि राममन्दिरमा गरिएको छ । तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उतराधिकारी महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए । विवाह पञ्चमीको पाँचौ दिन मंगलवार मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने वुधवार विवाह महोत्सव मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ । विहीवार रामकलेवा गरेसँगै यस वर्षको विवाह महोत्सव विधिवत रुपमा सम्पन्न हुनेछ ।
मटिहानीमा मटकोर विधि सम्पन्न
जलेश्वर । मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ । राम जानकी विवाह महोत्सवका अवसरमा मटिहानी नगरपालिका–७ मा अवस्थित धार्मिक एवं पौराणिक लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जगन्नाथ दास वैष्णवले जानकारी दिएका छन् । मिथिलाको धार्मिक विधिअनुसार महिलाले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठको ठीक अगाडिमा रहेको लक्ष्मी सागर (पोखरी)मा पुगी भगवान माता सीताको प्रतीक रहेको मूर्तिलाई नुहाई माटो उत्खनन गरेका थिए । मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर महत्वपूर्ण उपक्रम हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाह पञ्चमीका दिन जनकपुरमा भगवान रामचन्द्र र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिने छ । गए राति मटिहानीमा यज्ञवेदीको लागि खनिएको माटो लिएर एक विशेष रथयात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै विवाह पञ्चमीका लागि जनकपुरधाम जानेछ । प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेता युगमा भगवान रामचन्द्र र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न मटिहानीमा अवस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि सो स्थानमा वर्षेनी रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन छ ।
स्वास्थ्य मापदण्ड पालना गर्न मुख्यमन्त्री राउतको आग्रह
। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सीताराम विवाह महोत्सवमा सहभागी हुने श्रद्धालुहरुलाई स्वास्थ्य मापदण्डको परिपालना गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले विवाह महोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाउन श्रद्धालुहरुमा आग्रह गरेका छन् । विवाह महोत्सवको महत्वपूर्ण दिन बुधबार नेपाल र भारतबाट ठूलो संख्यामा श्रद्धालुहरु जनकपुरधाम आउने भएकाले कोरोनाको जोखिम बढ्न सक्ने जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य सतर्कता अपनाउन मुख्यमन्त्री राउतले अपिल गरेका छन् । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा भव्यतापूर्वक सीताराम विवाह महोत्सव मनाउँदै आइएको छ । विवाह महोत्सवका अवसरमा प्रदेश २ सरकारले मंसिर २२ गते बुधबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले विवाह महोत्सवलाई दृष्टिगत गरी नगरक्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिका मेयर लाल किशोर साहले जानकारी दिएका छन् । विवाह महोत्सव मेलाका कारण हुने भीडभाडलाई दृष्टिगत गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ देखि २३ गतेसम्म विदा दिने निर्णय भएको मेयर साहले जानकारी दिए । त्यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाले सीताराम विवाह महोत्सवमा बहुमूल्य गरगहना लगाइ सहभागी नहुन आग्रह गरेको छ । धनुषाका प्रजिअ बन्धुप्रसाद बाँस्तोलाले मंगलवार सूचना जारी गरी विवाह महोत्सवमा अत्यधिक भीडभाड हुने भएकाले महँगो मूल्यका गरगहना लगाएर सहभागी नहुन आग्रह गरेका छन् । भीडभाडमा जोखिमयुक्त सामानसमेत लिएर नजान आग्रह गर्दै कोरोनाको जोखिम पनि कायमै रहेकाले विवाह महोत्सवका सहभागीलाई अनिवार्य मास्क प्रयोग गर्नसमेत प्रजिअ बाँस्तोलाले आग्रह गरेका छन् ।


