रौतहट । जिल्लामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीयहरुले प्रहरी विरुद्ध जुलुश प्रदर्शन गरेको छ ।
प्रहरीले चालकलाई भगाएको भन्दै स्थानीयवासीहरुले सोमबार जिल्लाको पिपरा गौर सडकखण्डमा चक्का जाम गर्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनको कारण करिब दुइ घण्टा सम्म सो सडकमा सवारी आवागमन अवरुद्ध भएको थियो । मोटरसाइकलको ठक्करबाट दुर्गा भगवती–३ मत्सरीको १६ वर्षीय सन्तकुमार झाको मृत्यु भएपछि प्रहरीले चालकलाई भगाएको भन्दै मृतकका आफन्त तथा स्थानीय वासीहरुले पिपरा गौर सडक खण्डमा टायर समेत बालेर विरोध प्रदर्शन गरेका थिए । मोटरसाइकलले शनिबार दिउँसो ३ बजे ठक्कर दिँदा झा गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागी गंभीर घाइते भएका झालाई उपचारको लागि काठमाडु पु¥याइएको थियो । उपचारको क्रममा शनिबार राती झाको मृत्यु भएको थियो । प्रहरीले सिसिटिभी फुटेजमा बालकलाई ठक्कर दिने सनराइज बैंक दुर्गा भगवती शाखामा कार्यरत गार्ड गंगा पिपराका रवीन्द्र साह रहेको पुष्टि गरेका थिए ।
युवकको मृत्यु भएपछि प्रहरीले साहलाई नियन्त्रणमा लिन जांदा उनी फरार भएको प्रहरीले जनाएको छ भने पीडित परिवारले प्रहरीले मिलोमतो गरी ठक्कर दिने चालकलाई भगाएको आरोप लगाएका छन् ।


