२०७८ मंसिर २१, मंगलवार ०७:४४

जनकपुरधाम । जनकपुरधाममा जारी सीताराम विवाहोत्सव मेलामा सहभागीलाई अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्देशन जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा भीड हुने भएको र भीडमा कोरोना संक्रमणले महामारीको रुप लिन सक्ने सम्भावनालाई मध्ये नजर गर्दै मेला भर्नेले अनिवार्य मास्क लगाउनु पर्ने निर्देशन जारी गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना महामारी फैलिन नदिन मास्क अनिवार्य गरिएको जनाएका छन् । महोत्सवमा सहभागी हुन नेपालको विभिन्न जिल्ला तथा भारतबाट आएका श्रद्धालुलाई करिब चार लाख मास्क वितरण गर्ने तयारी समेत प्रशासनले गरेको उनले जनाए । महोत्सवको क्रममा पञ्चमीका दिन भारत र नेपालबाट हजारौंको भीडमा सहभागी हुन आउने भन्दै संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै मास्क अनिवार्य गरिएको हो । नेपाल र भारतमा कोरोना भाइरसको ओमिक्रोन नामक नयां भेरियन्ट समेत फेला परेको हुनाले सचेतना अपनाइएको प्रजिअ बास्तोलाले बताए । मास्क नहुने श्रद्धालुलाई नाका र जनकपुरधाम प्रवेश गर्ने ठाउं–ठाउंमा सुरक्षाकर्मीहरुले मास्क उपलब्ध गराउने उनले बताए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटी लगायत सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News