अपडेट 
२०७८ मंसिर २१, मंगलवार ०७:४६

धनुषा जिल्लामा अहिले सम्म ३२ प्रतिशत नागरिकले मात्रै कोरोना खोप लगाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार जारी गरेको तथ्याङक अनुसार अहिले सम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज खोप लगाएका छन् । जिल्लाको कूल जनसंख्या ८ लाख ४७ हजार ८ सय मध्ये अहिले सम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरी ३ लाख १० हजार १ सय ४८ जनाले मात्रै लगाएका छन् । १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ बर्ष उमेर समूहका १ हजार ७ सय व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९ सय २३ र १२ देखि १७ बर्ष उमेर समूहका ९४ हजार ४ सय ३२ जना अझै खोप लगाउन बाँकी रहेका छन् । जिल्लामा कोभिसिल्ड, भेरोसेल, जनसन एण्ड जनसन, एस्ट्राजेनेका र फाइजर गरी पाँच प्रकारका खोप लगाइएको कार्यालयले जनाएको छ । जिल्लामा कोरोना विरुद्धको खोप लगाउन छुटेकालाई पुनः आगामी मंसिर २४ गते देखि २८ गते सम्म लगाईने जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिएको छ । धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोना विरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको बताए । कोरोना विरुद्धको खोप प्रत्येक पालिकामा रहेको खोपकेन्द्र मार्फत लगाइने उनले जानकारी दिए ।

जिल्लामा ६ सय ३१ वटा खोप केन्द्रहरु छन् । एउटा खोप केन्द्रमा १ जना खोप लगाउने कार्यकर्ता र २ जना सहयोगी परिचालन गरिएको छ । जिल्लाका १ सय ६९ वटा वडामा त्यति नै संख्यामा खोप सुपरभाईजर समेत परिचालन गरिएको उनले बताए । १८ बर्ष र सो भन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्ध खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखि २९ गतेसम्म स्वास्थ्य कार्यालयमा नै लगाई रहेको स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख यूगल किशोर यादवले जनाए ।

Comment


Related News

Latest News

Trending News