रौतहट । रौतहटमा जंगल फडानी गरी काठ तस्करी गर्ने गिरोहलाइ पक्राउ गर्ने सम्बन्धित निकायको योजना असफल बनेको छ ।
वन जंगलको सुरक्षाको लागि नेपाल सरकारले नियुक्त गरेको कर्मचारी जिम्मेवार नभए पछि काठ तस्करी नियन्त्रण गर्ने अभियान कमजोर बनेको हो । जिल्लाको विभिन्न ठाउंबाट काठ बरामद भए पनि तस्करीमा प्रत्यक्ष संलग्न भएका व्यक्ति नियन्त्रणमा आउन नसक्दा तथा नियन्त्रणमा आएका व्यक्ति पनि सरकारी कर्मचारीको फित्लो अनुसन्धानको कारण धरौटीमा रिहा हुने गरेकोले काठको तस्करी नियन्त्रण हुन् सकेको छैन । जिल्लामा रहेको वन जंगल विनाश गर्ने कार्य तीव्र रुपमा जारी रहेको भए पनि सोको नियन्त्रणको लागि वन कार्यालय समेत अनभिज्ञ देखिएको छ । काठ सहित पक्राउ पर्नेहरु मूल्यांकन अनुसारको धरौटी राखेर छुट्ने गरेको कारण काठ तस्करी नियन्त्रण गर्ने अभियान दरिलो बन्न नसकेको वनकै कर्मचारीहरुको कथन छ । कानून बमोजिम दण्ड सजाय सहितको अभियोग लगाउने कार्य नै फित्लो भएपछि तस्करहरु सजिलै उम्किने गरेको स्थानीयवासीहरुको आरोप छ । धरौटीमा छुट्ने र फेरि तस्करीमा लाग्ने कार्य भइरहेकोले वन फडानीको कार्य रोक्न चुनौतीको विषय बनेको हो । पछिल्ला तीन वर्षमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको तथ्यांक अनुसार काठ तस्करीमा प्रयोग भएको सवारी साधन अत्याधिक फेला परेको छ भने तस्करी गर्ने व्यक्तिको संख्या न्यून रहेको छ । वन कार्यालयको तथ्यांक अनुसार तीन वर्षमा ६ सय ३७ क्युबीक फिट तस्करीको काठ बरामद भएको छ ।
काठ तस्करीमै प्रयोग गर्न मोडिफाइ गरिएको साइकल मात्र २ सय ५१ वटा नियन्त्रणमा लिइएकोले काठ तस्करीको लागि मोडिफाइ साइकलको प्रयोग बढिरहेको सहजै अनुमान लगाउन सकिन्छ । तीन वर्षमा २३ जना मात्र साइकल चालक तस्कर पक्राउ परेका छन् । तस्कर पक्राउ नपर्नुमा वन कार्यालयको कर्मचारी कै मिलोमतो हुन् सक्ने आशंका व्यक्त गरिएको छ । तस्करीमा साइकल मात्र नभई पछिल्ला ५ वर्षमा वन कार्यालयले तस्करीमा प्रयोग भएको १ सय ६ वटा टायर गाडा, १६ वटा ट्रयाक्टर, ३ वटा जीप, ३१ वटा मोटरसाइकल, टेम्पो ३ वटा, मिनिबस १ र पिकअप १ वटा नियन्त्रणमा लिएर कारवाहप् गरिएको भए पनि सवारीको तुलनामा पक्राउ पर्ने तस्करको संख्या न्यून रहेको छ । बरामद भएको काठ र सवारी साधनको तुलनामा तस्करी कार्यमा संलग्न भएको व्यक्तिको संख्या न्यून रहेकोले वन कार्यालयको कर्मचारीहरुको बेला बेलामा अनुगमन निरीक्षण गर्नु पर्ने जरुरी रहेको छ ।


