२०७८ मंसिर २२, बुधबार ०७:४४

जनकपुरधाम । मलखादको अभावमा धनुषा र महोत्तरीका किसानहरु समस्या भोग्न बाध्य बनेका छन् ।

गहुं रोपाइ ढिलो हुन लाग्दा पनि मलको चरम अभावले किसानहरु चिन्तित देखिएका छन् । दुइ बिघा खेतमा गहुं रोप्ने योजनामा रहेका महोत्तरी महदैयाका किसान मिश्रीलाल यादव अहिले मलकै लागि दिनहुं जनकपुरधाममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयमा धाउने गरेका छन् । सहकारी मार्फत प्रति किसान १० किलोको दरले युरिया तथा डीएपी खाध उपलब्ध गराइएको भए पनि त्यो ‘उंटको मुखमा जिराको फोरन’ सरह भएको उनको दुखेसो छ । अहिले सम्म एक किलो मल पनि नपाएको र कम्पनीको कार्यालयमा मलकै लागि दिनहुं आउने गरे पनि सुनुवाइ नभएको धनुषाको कमला नगरपालिकाका किसान राम लक्षण यादवको गुनासो छ । विदेहनगर नगरपालिका–५का किसान चन्द्रदेव बिराजीले हाम्रो वार्डमा डिलर नै नरहेको र तिनकौरियामा रहेको डीलरमा फालाफाल भए मात्रै हामीलाई दिने गरेको बताउंछन् । गहुँ सिजन सकिन लाग्दा पनि हाम्रो वार्डमा कसैले पनि मल नपाएको उनी प्रष्ट गर्छन् । महोत्तरी रामगोपालपुरमा रहेको सूर्यमुखी उपभोक्ता सहकारी संस्थाका संचालक सुरेशकुमार यादवले युरिया र डीएपी गरी सय बोरामा ४ सय किसानलाई बिक्री गर्नु पर्ने बाध्यता रहेको बताए । दिनकै २० भन्दा बढी किसान मल लिन आएपनि रित्तै फर्किने गरेको कहाली लाग्दो अवस्था रहेको र सोको मुख्य दोषी सरकारले मलखाद आपूर्ति गर्न नसक्नु नै रहेको आरोप लगाए । त्यस्तै महोत्तरीको मटिहानी–४ मझौराका सहकारी संचालक मोजिम राइन भन्छन्,‘हाम्रो वार्डको लागि २ सय बोरा भन्दा बढी मलको आवश्यकता छ तर सो अनुसारको आपूर्ति हुन सकेको छैन, हामी गत साता दिन देखि निरन्तर रुपमा कार्यालय धाइरहेका छौं तर कुनै सुनुवाइ भएको छैन ।

’ कम्पनीका शाखा प्रबन्धक रामकुमार चौधरीका अनुसार गहुँ सीजनको लागि वीरगञ्ज कार्यालयसंग ४ हजार मेट्रिक टन युरिया र ३ हजार मेट्रिक टन डीएपी माग गरेको भएपनि ९ सय ५ मेट्रिक टन युरिया र ५ सय ८५ मेट्रिक टन डीएपी मात्रै अहिले सम्म आइपुगेको छ । सो मध्ये अहिले सम्म ३ सय ६० मेट्रिक युरिया खाद बिक्री वितरण भइसकेको र ५ सय ४४ मेट्रिक टन युरिया बिक्रीको लागि बाँकी रहेको उनले बताए । तत्काल युरिया मलको अभाव नभएपनि माग अनुसार डीएपी खाद वीरगञ्ज र काठमाण्डुबाट नआउंदा अभाव सृजना भएको उनले प्रष्ट गरे । पोटासको त झनै बढी अभाव रहेको बताउंदै उनले भने ,‘ जनकपुरधाम र ढल्केबरबाट वितरण गरिने मलमा कुनै लापरवाही हामीले गरेका छैनौं तर वीरगञ्ज र काठमाण्डुबाटै मलखाद नआइदिँदा अभाव सृजना भएको हो । ’ महोत्तरी र धनुषामा २ सयको संख्यामा रहेको सहकारी संस्थाहरुमा ६० बोरा युरिया र ४० बोरा डीएपी उपलब्ध गराइएको छ जसले किसानहरुको माग पूरा गर्न नसकिने उनले समस्या पोखे । ‘एक लट हामीले बिक्री गरिसेकेको र अर्को लटको लागि वीरगञ्जबाट डीएपी खाद नआउंदा केही समस्या भएकै हो ।’,उनले भने । मंगलबार नै वीरगञ्ज कार्यालयमा सम्पर्क गरेको र त्यहाँबाट दुई तीन सय मेट्रिक टन मल तीन दिन भित्र आउने र धनुषा महोत्तरीका किसानहरुले थोरै भएपनि राहत पाउने देखिएको छ । प्रबन्धक चौधरीले जे सुकै दाबी गरेपनि कहिले सम्म आइपुग्छ भनेर यकिन मिति तोक्न सकेनन् । तराइमा गहुं रोप्न पुष १५ गतेलाई अन्तिम समयको रुपमा मानिन्छ तर मल खादको सहज उपलब्धता भएर मंसिरमै रोप्न सकिए उत्कृष्ट उत्पादन हुने धारणा कृषि ज्ञान केन्द्र जनकपुरधामका प्राविधिक अधिकृत प्रदीप कुमार यादवको छ ।

मलखादको अभावमा गहुंबालीको उत्पादन अत्याधिक घट्ने भएकोले गहुं खेतीको लागि अन्य बालीको तुलनामा मलखादको महत्व अझै बढी रहेको अधिकृत यादव बताउंछन् । जनकपुरधाममा विवाहपञ्चमीको कारणले पठाउन ढिलो भएको वीरगञ्ज सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी योगेन्द्र पराजुली बताउंछन् । माग अनुसार जनकपुरधामको लागि आपूर्ति गरिएको दाबी गरेपनि सो अनुसार आपूर्ति भएको देखिएको छैन । दोश्रो लटको खाद कहिले सम्म जनकपुरधाम आइ पुग्ने हो भन्ने प्रश्नमा उनले भने,‘हामीले ढुवानीको लागि आदेश जारी गरिसकेका छौं दुइ चार दिन अझै लाग्न सक्छ ।’ भारतबाट आउने २० हजार मेट्रिक टन आइसकेको र ५ हजार मेट्रिक टन मलखाद बाटोमा अड्कोले यसको लागि केही समय लाग्ने सामग्री केन्द्र काठमाण्डुका सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । साल्ट ट्रेडिंग कम्पनीले देशभरि चाहिने मलको ३० प्रतिशत मलको जिम्मेवारी लिएको र गत आर्थिक वर्षको फागुन महिना सम्ममा सो कम्पनीले मल आपूर्ति नगरेकाले सप्लायर्स र कम्पनी बीच मिलोमतोमै मलखाद अभाव गराइ ब्ल्याक गर्ने गरिएको स्रोतको दाबी छ । साल्ट ट्रेडिंगकै हेल्चक्रयाँईले किसानहरु मर्कामा परेको स्रोतको दाबी छ । ‘सप्लाएरलाई कारवाही गर्नु पर्ने थियो तर कारवाही नगरेको कारण मलखादको चरम अभाव सृजना भएको हो ।’ नाम नखुलाउने सर्तमा सामग्री लिमिटेड केन्द्रीय कार्यालय काठमाण्डुका एक कर्मचारीले बताए । मलखादको जिम्मेवारी लिएको ट्रेडिंगले रकमको चलखेल गरी मललाई ब्ल्याकमा बेच्ने गरेको स्रोतको आरोप छ ।

Comment


Related News

Latest News

Trending News