२०७८ मंसिर २३, बिहीबार ०८:०२

बारा । बाराको निजगढ नगरपालिकाले आफनो नगर क्षेत्र भित्र रहेका खानेपानी संस्थाहरुलाई ८० लाख ६१ हजार ६ सय रकमको चेक हस्तान्तरण गरेको छ ।

१० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको रकम भुक्तानी दिने निर्णय अनुसार नगरपालिकाले सो रकम खानेपानी संस्थानलाई प्रदान गरेको हो । नगरपालिकाले निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ५८ लाख ८१ हजार दुई सय, रतनपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई ८ लाख ७४ हजार आठ सय, सिगौलका २ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई ४ लाख ६० हजार आठ सय बराबरको चेक हस्तान्तरण गरेको हो । त्यसैगरी अटल वस्ती खानेपानी उपभोक्ता समिति निजगढ–२ लाई एक लाख आठ सय, सिगौल ब्रह्मबाबा खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति निजगढ १ र ३ लाई दुई लाख ८६ हजार आठ सय र लाल खानेपानी उपभोक्ता समूह निजगढ १० लाई चार लाख ५७ हजार दुइ सय बराबरको चेक हस्तान्तरण गरिएको हो । नगरपालिकाले खानेपानी उपभोक्ताहरुको एक वर्षमा न्यूनतम् शुल्क उपभोक्ता संस्थाहरु मार्फत एकै पटक चेकबाट रकम भुक्तानी गरेको छ । चेक हस्तान्तरण कार्यक्रममा निजगढ क्षेत्रका सबै खानेपानी समितिका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कै रकम भुक्तानी गरेपछि संस्थाले पनि अब उपभोक्ताले भुक्तानी गरिसकेको न्यूनतम् शुल्क बराबरको रकम सम्बन्धित उपभोक्ताको खातामा जम्मा गरिदिने खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष सुदर्शन कोइरालाले बताए । नगरपालिकाले चालु आर्थिक वर्षबाट १० हजार लिटरसम्म न्यूनतम पानी उपभोग गर्ने नगरपालिका भित्रका उपभोक्ताहरुको शुल्क मिनाहा गर्ने कार्यक्रम संचालन गरेको छ ।

Comment


Related News

Latest News

Trending News