जनकपुरधाम ।नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन प्रतिनिधिको चुनावमा महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ सहभागी हुने संभावना न्यून भएको छ ।
निर्वाचन अधिकृत नियुक्त भएका अधिवक्ता हेमबहादुर कार्कीले बुधवार दिउँसो राजिनामा दिएपछि चुनाव अन्योलमा परेको छ ।२४ गतेदेखि महाधिवेशन प्रारम्भ हुँदैछ । महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ । यसैबीच प्रदेश २ मा सर्वाधिक विवादित बनेको सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा डा.अमरेश कुमार सिंह पराजित भएका छन् ।डा.सिंहले राज्यशक्तिको चरम दुरुपयोग गरी आफूलाई निर्वाचनमा हराइएको आरोप लगाए ।डा.सिंह महाधिवेशनमा मधेशी कोटाबाट सहमहामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका थिए । संस्थापन इतर पक्षमा रहेका डा.सिंहलाई संस्थापन पक्षले ठूलो मतान्तरले पराजित गरेको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा डा.सिंहको प्यानलको मत २ सय ४८ र संस्थापन पक्षका डा.वीरेन्द्र सिंह समूहको मत ५ सय बढि रहेको थियो । डा.सिंह संघीय सांसद हुन् र उनी डा.शेखर कोइरालाका पक्षधर हुन् ।
निर्वाचित भएका वीरेन्द्र सिंह प्रदेश सभा सदस्य हुन र प्रदेश २ मा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री हुन् ।पछिल्लो निर्वाचनमा एकै समूहमा रहेका सिंहहरु पछिल्ला दिनमा भने फरक फरक खेमा समातेका छन् । महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वर प्रसाद सिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल विजयी भएका छन् । त्यसैगरी चार प्रत्यक्ष महिलातर्फ रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन । महिला मधेशीतर्फ महाधिवेशन प्रतिनिधिमा रेखा कुमारी देवी, सुनैना देवी र अमृती कुमारी साह विजयी भएका छन् ।


