दुइ महिला सहित तीन जनाको हत्याका आरोपी गुलजार मियाँमाथि डकैती पछि एक अर्को महिलाको पनि हत्या गरेको खुलासा भएको छ ।
सुरुङ्गा नगरपालिका–१० का मियाँले अनुसन्धानको क्रममा डकैती र हत्याको घटनामा आप् mनो संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । २०७० चैत २ गते तिरहुत गाउंपालिका–१ मा डकैती भएको थियो । सो क्रममा घरधनी निर्मलादेवी साहको हत्या पनि भएको थियो । निर्मलाको हत्या गरेको मियाँले स्वीकार गरेको छ । घटनाको ८ वर्षपछि मंगलबार पक्राउ परेका मियाँले प्रहरी समक्ष बयान दिँदै भनेका छन्,‘मोहम्मद सकिल,अल्लाउद्दिन र मोहम्मद मुस्तकीम भनिने रहिस मियाँ सहित मिलेर डकैती गरे अनि निर्मलाको हत्या पनि हामीले नै गरेका थियौं ।’ निर्मलाले छोरा दीपकलाई विदेश पठाउन १ लाख ५० हजार रुपैयां जम्मा गरिराखेको सुइको पाएपछि आफूहरु चार जना मिलेर रकम लुटेको र सो क्रममा निर्मलाले प्रतिकार गर्न खोज्दा छूरा प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएका छन् । जिप्रसका सूचना अधिकारी माधव प्रसाद काफ्लेका अनुसार यस अघि २०६९ असोज १० गते सप्तरीको खडक नगरपालिकाका सहबुद मियाँ र उनको बुहारी सागीरा खातुन तथा २०७० साल मंसिर ६ गते अग्निसाइर कृष्णासवरण गाउंपालिकाकी दुलारी देवी साहको हत्या घटनामा उनको संलग्नता पुष्टि भइसकेको छ । उक्त हत्या घटना पनि पैसा लुट्नकै लागि भएको अनुसन्धानको क्रममा खुलेको छ ।विभिन्न घटनापछि फरार रहेका मियाँलाई पक्राउ गर्न रेड नोटिस समेत जारी गरिएको थियो ।
दुईं दिन अघि छिमेकी जिल्ला सिरहाको सखुवाननकारीकट्टी गाउंपालिका–१ महेश्वरी टोलको एउटा घरमा लुकिछिपी बसेको अवस्थामा मियाँ पक्राउ परेका थिए । चारवटै हत्या रकम लुट्ने प्रयोजनले गरिएको अनुसन्धानको क्रममा खुलेको छ । गुलजार सुनसरीको इनरुवामा भएको एउटा सामूहिक हत्याकाण्ड घटनामा समेत संलग्न रहेको र सो सम्बन्धमा अनुसन्धान जारिरहेकोले अहिले केही पनि भन्न नमिल्ने सूचना अधिकारी काप्mलेले बताए ।


