नेपाली कांग्रेसको सभापति पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
१४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि शनिवार भएको उम्मेदवारी दर्ताको क्रममा महामन्त्री पदका लागि पनि ६ जनाले उम्मेदवारी दिएका छन् । एक जना सभापति र दुई जना महामन्त्रीको पद रहेको छ । संस्थापन र ईतर पक्षबाट परेका उम्मेदवारीमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा. शेखर कोइरालाले पदाधिकारीहरुको प्यानल सहित उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरुका अनुसार देउवा र कोइरालाबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिका अन्य प्रत्याशीहरु मध्ये प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुंग र युवराज न्यौपानेले प्यानलको सूची सार्वजनिक गरेका छैनन् । सभापति समेत १३ जना पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका अनुसार उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । यसैगरी महामन्त्रीमा डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा. राजाराम कार्कीले उम्मेदवारी दिएका छन् । त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनराज, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएकोछ ।
समितिका अनुसार केन्द्रीय सदस्यतर्फ पिछडिएका कोटामा दुई, अपाङ्ग कोटामा १७, अल्पसंख्यक कोटामा ६, मुस्लिम कोटामा १६, थारु कोटामा १४, मधेशी कोटामा ३२, दलित कोटामा ३९, महिला कोटामा ३१, खसआर्य कोटामा ८३, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ १ सय १० जनाले उम्मेदवारी दिएका छन् । यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट ५, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि ६, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारी र सदस्यहरु समेत कूल १ सय ३४ जना निर्वाचित हुनेछन् । महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी छन् ।उनीहरु सबै जना मतदाता रहेका छन् ।कांग्रेसको विधान अनुसार सभापतिले ३३ जना केन्द्रीय सदस्य र निर्वाचित सदस्यहरु मध्येबाट एकजना कोषाध्यक्ष नियुक्त गर्ने छन् । निर्वाचन समितिका अनुसार आईतवार उम्मेदवारी फिर्ता, दावी, बिरोध, अन्तिम नामावली प्रकाशन र सोमवार मतदान हुनेछ ।मतदान सम्पन्न भए लगतै सभापतिको मतगणना हुनेछ ।त्यसमा ५१ प्रतिशत मत कसैले ल्याउन नसके पुनःमतदान गराईने छ । त्यसपछि सभापतिको मतगणनासँगै अन्य पदको मतगणना हुनेछ ।
सहमहामन्त्रीमा धनुषाका २ यादव

कांग्रेसको केन्द्रीय समितिमा मधेशी कोटाबाट सदस्य रहेका धनुषाका युवा नेताद्वय महेन्द्र यादव र रामकृष्ण यादवले १४ औं महाधिवेशनमा मधेशी कोटाबाट सहमहामन्त्रीमा भीडेका छन् ।
संस्थापन पक्ष देउवा समूहबाट महेन्द्र यादव र कोइराला पक्षबाट रामकृष्ण यादवले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।सहमहामन्त्रीको मधेश कोटामा एउटा पद मात्र रहेको छ ।कांग्रेसले विभिन्न ८ कलष्टरका लागि सहमहामन्त्री पद आरक्षित गरेको छ ।


