महेन्द्रनगर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमार धनुषा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेल सम्पन्न भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरको विशेष सहयोग र धनुषा जिल्ला फुटबल संघको आयोजनामा पहिलो दिनको उद्घाटन खेल यज्ञभूमि युवा समाज धारापानी र न्यू जनशक्ति युवा क्लब हडवडाको बीच भएको रोमाञ्चक खेल १ का विरुद्ध ३ गोल गरी यज्ञभूमि युवा समाज धारापानी जित्न सफल भएको छ । क्षीरेश्वर स्पोर्ट क्लबका अध्यक्ष, प्रदेश फुटबल संघ सदस्य केवल मुखिया तथा क्षीरेश्वरनाथ नगरपालिका–५ का वडाअध्यक्ष जीवछ मण्डल सहितको उपस्थितिमा शनिबार उदघाटन खेल सम्पन्न भएको हो । क्षीरेश्वर मा.वि.महेन्द्रनगरको खेल मैदानमा शनिबारदेखि सुरु भएको धनुषा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा जिल्लाको विभिन्न दश वटा टीमको २३ वटा खेल हुने क्षीरेश्वर स्पोर्ट क्लवका अध्यक्ष संयोजक राम केवल मुखियाले जानकारी दिए ।
कार्यक्रममा प्रदेश फुटबल संघका महासचिव सुरेश ठाकुर, केन्द्रीय सदस्य तपेश्वर राउत, अतिथि क्लब जनकपुर अध्यक्ष कल्याण कुमार खडका, यज्ञभूमि युवा समाज अध्यक्ष ललित नारायण साह, इन्द्र युवा क्लब यदुकुहाका अध्यक्ष राजदेव प्रसाद साह, प्रदेश तथा जिल्ला फुटबल कोच प्रकाश अर्याल, धनुषा जि.सहायक महासचिव अत्युतम कुमार बराल, जिल्ला फुटबल संघ सदस्य राम विनोद महतो, जिल्ला रेफ्री संघका अध्यक्ष प्रमोद पासमान, जिल्ला रेफ्री संघ महासचिव सुनिल पासमान, हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतो, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादव लगायतको सहभागिता रहेको थियो । शनिबार भएको पहिलो उदघाटन सत्र खेलको मैन अफ दी म्याचको शिल्ड र नगद पुरस्कार हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतले यज्ञभूमि युवा समाज धारापानीका खेलाडी उज्वल घतारीलाई प्रदान गरेका थिए ।


