२०७८ मंसिर २६, आईतवार ०७:४२

राजविराज । सप्तरीको छिन्नमस्ता गाउंपालिका–४ लालापट्टीमा चौपायामा खोरेत रोगको प्रकोप सुरु भएको छ ।

एक साता यतादेखि सो गाउंका एक सय भन्दा बढी पशु चौपाया खोरेत रोगको कारण मरेका छन् । चौपायाको मुखमा घाउ हुने, ¥याल बग्ने, खुट्टामा घाउ हुने लगायतका लक्षण देखिएको र सोही कारणले एक सय भन्दा बढी चौपाया मरेको पशुपालक किसानहरुले जनाएका छन् । सो गाउंका वासिन्दा समेत रहेका पूर्वमन्त्री उमेश कुमार यादवका अनुसार हालसम्म पशु पालक योगेन्द्र यादव, सत्यनारायण यादव, परशुनारायण यादव, किशोर यादव लगायत दर्जनौं पशुपालकका सय भन्दा बढी गाई, भंैसी, बाख्रा र बोकाहरु उक्त रोगको प्रकोपबाट मरेको हो । पशुपालक योगेन्द्र यादवका अनुसार कुनै पशुलाई मुखमा घाउ हुने, कसैलाई अत्यधिक ¥याल बग्ने त कसैलाई खुट्टामा घाउ हुने लगायतको संक्रमण देखिएको छ । अर्का पशुपालक किशोर कुमार यादवले गाउंका थुप्रै चौपायामा यस्तो समस्या देखिएको बताए । गाउंका पशुमा देखिएको रोगको प्रकोपले आफूहरु समस्यामा परेको पशुपालक उपेन्द्र यादवले गुनासो पोखे । लालापट्टीमा देखिएको रोगको प्रकोप नियन्त्रण तथा पीडित पशुपालकलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पूर्वमन्त्री यादवले सरकारसंग माग गरेका छन् । उक्त रोगको प्रकोपबारे संचारकर्मीहरुलाई जानकारी गराउँदै उनले रोग प्रकोप नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मीको औषधि सहितको टोली प्रभावित क्षेत्रमा पठाई उपचारको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारसंग माग गरेका हुन् । उनले प्रभावित वस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालनका लागि पहल गर्न समेत सरकारसंग माग अघि सारेका छन् ।

यता भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीले सो गाउंमा पशुमा देखिएको रोगको प्रकोप नियन्त्रणका लागि औषधिसहित पशु चिकित्सकको टोली पठाउन लागिएको जानकारी दिएको छ ।

Comment


Related News