अपडेट 
२०७८ मंसिर २७, सोमबार ०७:३८

महिला हिंसा न्यूनीकरणको लागि महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनु पर्ने आजको आवश्यकता रहेको धारणा व्यक्त गरिएको छ ।

ढुकढुकी एफ.एम.९५.२ मेगाहर्जले आयोजना गरेको महिला हिंसा बिरुद्ध सरोकारवाला निकायहरुसंगको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । महिलाहरु आर्थिक रुपमा सबल नभए सम्म यस पुरुष प्रभुत्व समाजमा उसको सामाजिक विकास नै सम्भव नरहेको लालबन्दी मिडिया प्रा.लिका अध्यक्ष उज्वल कुमार कार्कीको धारणा छ । कार्यक्रममा प्रदेश सांसद बेची लुंगेलीले महिलाहरुलाई सामाजिक रुपमा पुरुष बराबरको हैसियतमा पुग्न आर्थिक सबलीकरणको साथै शिक्षामा पहुंच आवश्यक रहेको उल्लेख गरिन् । लालबन्दी नगरपालिकाकी उप–प्रमुख शान्ति लामाले महिला हिंसाको अन्त्य घरैबाट सुरु गर्नु पर्ने र आमाहरुले यसमा खास ध्यान दिनु पर्ने आवश्यकता रहेको धारणा राखिन् । मेची महाकाली बुहारी संयुक्त आवाजकी संर्लाही संयोजक रमा काफ्लेले महिलाहरु हरेक क्षेत्रमा अगाडि बढ्न सक्ने भन्दै महिलाहरुमाथि हुने हिंसाको मुख्य कारण समाजमा व्याप्त अशिक्षा रहेको धारणा व्यक्त गरिन् । सर्लाही साहित्य समाजकी मिना देवकोटाले महिला हिंसाको घटनालाई गंभीरतापूर्वक नियालेर खोज तलास गर्दा अधिकांश महिलाको हिंसाको घटनामा महिला नै दोषी देखिने गरेको गुनासो गरिन । महिलामाथि हुने हिंसा महिलाले नै बुभ्mन नसक्नु यस समाजको लागि दुर्भाग्यपूर्ण अवस्था रहेको उनको कथन थियो । लालबन्दी जेसिज बर्ष २०२१ का अध्यक्ष श्याम खड्काले महिला हिंसाका पीडकहरुले राजनीतिक दवावमा घटना मिलाउने गरेकोले दण्डहिनताले प्रश्रय पाएको बताए ।

पीडकलाई कानून बमोजिम सजाय दिनु पर्ने अहिलेको आवश्यकता रहेकोमा उनले जोड दिए । हरिवन नगरपालिकाको कार्यपालिका सदस्य एवं मेची महाकाली बुहारी संयुक्त आवाजकी हरिवन नगर संयोजक गीता राउतले पीडकहरु हिंसा गरेर पनि कानून बमोजिम कारवाहीबाट सजिलै उम्किने गरेकोले हिंसाका घटनाहरुमा दिनानुदिन बृद्धि भइरहेको बताए । कार्यक्रममा बागमती संयोजक शर्मिला बानियाँ, मानवअधिकारका लागि महिला तथा एकल महिला संघकी अध्यक्ष झम्का धिताल, बाल संरक्षण संस्थाकी जमुना आचार्य, संयुक्त महिला संजालकी सानु पाख्रिन, लालबन्दी नगरपालिका–५ का वडाध्यक्ष मोहन भण्डारी, कानून विज्ञ भरत कुमार घिमिरे, गाउं सुधार विकास संस्थाकी गीता विश्वकर्मा लगायतकाले आ– आप्mनो धारणा राखेका थिए ।

Comment


Related News