नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार निर्वाचन हुने भएको छ ।
निर्वाचनमा ५ जनाले सभापतिमा उम्मेदवारी कायमै राखेका छन् । सभापतिकालागि शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ्गले मनोनयन दर्ता गराएका छन् । सभापति देउवा पहिलो चरणमै सभापतिको नतिजा आउनेमा विश्वस्त छन् भने अन्य उम्मेदवारहरुले दोस्रो चरणमा मात्रै सभापति चयन हुने बताउंदै आइरहेका छन् । निर्वाचनकालागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको छ । महाधिवेशन स्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ÷शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २ ९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रकालागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २ सय ९३, भृकुटीमण्डप प्राङ्गणमा २ सय ९३ बुथ र भृकुटीमण्डपको हलमा ५ सय १४ वटा बुथ राखिएको छ ।
मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री, आठ सह–महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था रहेको छ । यसैगरी ३५ खुल्ला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खुलाइ बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानमा व्यवस्था छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या चार हजार ७ सय ४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १ सय ६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेश स्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएको छ ।
कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
सोमवार हुने निर्वाचनकोलागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावली अनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन् । पाँच जनामध्येबाट सभापतिमा एकजना निर्वाचित गर्नुपर्ने छ । यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी कायमै छ । दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा. राजाराम कार्कीको उम्मेदवारी कायमै छ । एक महिला सह–महामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गङ्गा सुनारको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ एक सह–महामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सह–महामन्त्री पदकालागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् ।
मधेशीतर्फ एक सह–महामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ । मुस्लिमतर्फ एक सह–महामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकीलको उम्मेदवारी छ । थारुतर्फ एक सह–महामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ । थारुतर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएपछि दुइ जनामात्र प्रतिस्पर्धामा छन् । । पिछडिएको क्षेत्रबाट निर्वाचित हुने एक सह–महामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालको उम्मेदवारी पनि कायमै रहेको निर्वाचन समितिले जनाएको छ ।

