नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्व चयनका लागि सोमवार भएको मतदान अबेर राती सम्म जारी रहेको छ । १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । ४ घण्टा ढिला मध्यान्ह १२ बजे सुरु भएको मतदान बीचमा पनि रोकिएको थियो । ४ हजार ७ सय ४३ मतदाता रहेको मतदानमा एकजनालाई झण्डै पौन घण्टा समय लाग्ने गरेको बताइएको छ ।सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई झण्डै १ घण्टा र विमलेन्द्र निधिलाई ५० मिनेट समय मतदानमा लागेको थियो ।
निर्वाचन समिति स्रोतका अनुसार सभापति पदको मतगणना मतदान सम्पन्न भए लगतै भृकुटी मण्डपमा प्रारम्भ हुनेछ ।अन्य पदका उम्मेदवारहरुको मतपेटिका पार्टी कार्यालयमा लगिने छ । मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके पहिलो र दोस्रो मत ल्याएका उम्मेदवारहरुका बीच पुनः मतदान गराइने कांग्रेस पार्टीको विधान अनुसार पुनः मतदान हुनेछ । सबै पदको मत परिणाम सार्वजनिक हुन हप्ता दिन लाग्न सक्ने निर्वाचन समितिको अनुमान छ ।ठूलो पानी टंकीलाई मतदान गर्ने बाकस बनाइएको छ ।हजार लिटर पानी अट्ने टंकीलाई बाकस बनाइएकाले पार्टी कार्यालयमा राख्न समेत समस्या पर्ने देखिन्छ । नेता कुलबहादुर गुरुङले पहिलो मत हालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न कम्तीमा आधा घण्टा समय लाग्ने बताइएको छ । कांग्रेस विधान अनुसार १ सय ६७ सदस्यीय कार्यसमितिमध्ये १ सय ३४ पदका लागि मतदान भएको छ । अन्य ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । केन्द्रीय कोषाध्यक्ष निर्वाचित सदस्यहरु मध्येबाट मनोनित हुने प्रावधान १४ औं महाधिवेशनबाट राखिएको छ । निर्वाचन समितिका अनुसार यो समाचार तयार पारुञ्जेल राती पौने १० बजे सम्म ४ हजार ३ सय मत खसेको थियो ।

