देशको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसलाई महाधिवेशन लागेको छ । दुईदिन पहिला यसको भव्य उद्घाटन भएको थियो । यो लेख तयार गरिरहँदा सभापति लगायतका नेतृत्व सहित केन्द्रिय समितीको सदस्यहरुको निम्ती प्रतिनिधिहरु मतदान गर्दैछन् र यो लेख प्रकाशित हुनेबेला सम्भव छ यस्को परिणामपनि प्रकाशित भईसकेको हुनेछ । पार्टीको आगामी सभापतिको निम्ती वर्तमान सभापति शेरबहादुर देउवा सहित पाँच जना नेताहरु प्रतिस्पर्धा गरिरहेका छन् । नेकाको विधान अनुसार सभापतिमा जित्नलाई पचासप्रतिशत भन्दा बढी मत प्राप्त गरेमा मात्र सफल हुने प्रावधान छ । कदाचित आवश्यक मत कसैले प्राप्त गरेन भने सबैभन्दा बढी मत प्राप्त गरेका दुई उम्मेदवार बीच फेरी मतदान गरिन्छ । राजनीतिक पार्टीहरुको निम्ती महाधिवेशन पार्टीको विचार र नीतिबारे छलफल गर्ने, परिस्थिति बारे ठोस समिक्षा गरी नयाँ कार्यदिशा तय गर्ने तथा आवश्यक परे नेतृत्वमा उपयुक्त माध्यमबाट परिवर्तन गर्ने तथा सबै प्रकारबाट तरोताजा भएर देशको राजनीतिमा पुनः सक्रिय हुने महान अवसर हुन्छ । यस अवसरमा पार्टीका तल्लो निकायबाट अनुमोदित हुँदै पार्टीप्रतिनिधीहरु महाधिवेशनमा भाग लिन आएका हुन्छन् । यी प्रतिनिधिहरुले पार्टीको आगामी वैचारिक र सांगठनिक कार्यदिशा र नेतृत्वको चयन गर्छन्, अनुमोदन गर्छन । त्यसैले पार्टी जीवनमा महाधिवेशनलाई सबैभन्दा सर्वोच्च र शक्तिशाली ईकाई मानिन्छ ।
तर समयसंगै महाधिवेशनको ओज घटेको छ । ओज घटेको यस अर्थ भनियो कि अव पार्टीको महाधिवेशन विचार र कार्यनीतिबारे छलफल र नयाँ कार्यदिशा तयगर्नु भन्दा पनि रुढ अर्थमानेतृत्व चयनमा मात्र केन्द्रित हुने गर्छ । तर अहिलेका पार्टीहरुमा विचार बारे बहस कमै हुने गर्छ । हुनपनि अहिलेका राजनीतिक पार्टीहरु जनहितका विचारमा आधारित पार्टीहरु भन्दा बढी सत्तामा वर्चस्व स्थापित गर्ने माध्यम बनेको छ । त्यसैले अचेल महाधिवेशन भनेको पार्टीको नेतृत्व कब्जा गरेर सत्तामा पुग्ने भ¥याङ्ग हुनेगर्छ । एउटा वैचारिक पार्टीमा वैचारिक मतभिन्नताको आधारमा समूहहरु हुने गर्छ । कुनैबेला नेपाली काँग्रेसमा नेपालभित्रै बसेर वा देश बाहिर बसेर राजनीतिक संघर्ष गर्ने बारे मतभिन्नता हुने गथ्र्यो । त्यस्तै ०१७ सालमा राजा महेन्द्रले संसद बर्खास्त गरेर निरङकुशपञ्चायती राजतन्त्र देशमा लादेपछि नेपाली काँग्रेसभित्र गणतन्त्र कि सम्वैधानिक राजतन्त्रको बहस थियो । त्यसरी नै कुनै बेला पञ्चायती राजतन्त्तको विरुद्ध सशस्त्र क्रान्ति गर्ने कि शान्तिपूर्ण राजनीतिक संघर्षमा मात्र सीमित रहने भन्ने पनि बहस थियो । ०६२÷६३ सालमा माओवादी जनयुद्धकारी शक्तिसंग सम्झौता गरेर गणतन्त्रको निम्ती आन्दोलनको बेला गिरिजाप्रसाद कोइरालाको गणतन्त्तपक्षीय र कृष्णप्रसाद भट्टराईको सम्वैधानिक राजतन्त्रपक्षीय दृष्टिकोणको भिन्नता कटुतापूर्ण स्तरसम्म अभिव्यक्त भएको थियो । हुन त यी दुई नेताबीचको कटुताको कारण यसभन्दा पहिलेको सत्ता नेतृत्वको निम्ती भएको गूटगत दाउपेँच पनि थियो । तरपनि देशमा गणतन्त्र आउने बेला कृष्णप्रसाद भट्टराई राजनीतिबाट विरक्तिई सकेका थिए । त्यसैले उनको मतभिन्नता राजनैतिक दृष्टिकोण नै थियो । जे होस, वैचारिक पार्टीमा वैचारिक समूहहरु हुनेगर्छन् र महाधिवेशनको बेला यी वैचारिक समूह आफ्नो वैचारिक कार्यदिशा लागू गर्न समूह वा गूट बनाएर नेतृत्वमा परिवर्तन गर्न चाहन्छन् ।
तर अब त्यसो हुँदैन । अब त सत्ताभोगको निम्ती विभिन्न गूटहरु बनेको हुन्छन् । यस पटक नेपाली काँग्रेसको उद्घाटन कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको वक्तव्यमा यस्तै यस्तै दुखेसो र गुनासोयुक्त भाव थियो । पार्टीभित्र विचारहीनता बढयो, पार्टीले अँगालेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको राजनीतिक लाईन हरायो, पार्टी संकुचित हुँदैगयो, अन्य पार्टीहरु हावी हुँदै गए, तर पार्टी नेतृत्वले यस तर्फ कुनै चासो दिएन र महाधिवेशनमा पनि यसबारे छलफल हुने छाँट देखिएन ; रामचन्द्र पौडेलका वक्तव्यमा यस्तै यस्तै चिन्ता र चासो निहित थियो । नेपाली काँग्रेसमा सत्ताको निम्ती गूट नयाँ होइन । अहिले देखिएका गूटहरु बहुदलिय कालकै विरासतहो । नेकाभित्र अहिले देखिएका गूटहरु गिरिजाप्रसाद कोइराला भर्सेज कृष्णप्रसाद भट्टराई गूट प्रतिस्पर्धाको निरन्तता हो । कोइरालासंग नसकेर भट्टराई विरक्तिएपछि यस गूटको नेताको रुपमा शेरबहादुर देउवा देखिए । अर्कोतर्फ गिरिजाप्रसाद कोइरालाको मृत्युपछि यस गूटको नेताको रुपमा रामचन्द्र पौडेल देखिए । समयसंगै दुबै गूटमा महत्वाकांक्षी नेताहरु जन्मिनु स्वाभाविक नै हो । त्यस्तै गूटभित्रपनि उपगूटहरुको जन्म भयो । यो नेपाली काँग्रेसको चौधौँ महाधिवेशन हो । बाह्रो महाधिवेशनमा कोइराला गूटबाट कृष्णप्रसाद सिटौलाले स्वतन्त्र गूट बनाए भने अहिले यस महाधिवेशनमा देउवा गूटभित्र उनका सबैभन्दा निकटका सिपहसालार मानिने विमलेन्द्र निधिले अलग्गै गूट बनाएर सभापति पदमा स्पर्धा गरिरहेका छन् । यस पाली पौडेलको गूटमा पनि विभाजन देखियो । पार्टी सभापतिको निम्ती पौडेलको चाहना पुरानो हो । यसपटक गूटको निर्विरोध नेताको रुपमा उनी देउवासंग प्रतिस्पर्धा गर्न चाहन्थे ।
तर त्यसो भएन । उनको गूटमा रहेका विपी कोइराला पूत्र शेखर कोइराला र गणेशमान सिंह पूत्र प्रकाशमान सिंहलाई उनले मनाउन सकेनन् । यसबाट उनी यति विरक्तिएका छन् कि राजनीतिबाट नै बाहिरिने कुरा गर्दैछन् । पौडेलले के गर्ने हुन्, त्यो त आगामी दिनमा नै देखिनेछ । तर अहिले उनी केन्द्रिय समितीमा पनि नबस्ने घोषणा गरिरहेका छन् र उनको गूटका भनिने शेखर कोइराला र प्रकाशमान सिंह फरक फरक प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । गिरिजाप्रसाद कोइराला रहेसम्म शेरबहादुर देउवा जे गरेपनि सकेनन् । गिरिजाको विरासत उनका भाई सुशिल कोइरालाले थामे । तर सुशिल कोइरालाको निधनपछि शेरबहादुर देउवा पार्टी सभापतिको पदमा आसिन छन् र अहिले सबैभन्दा बलियो देखिएका छन् । गूटबाट अलग्गिएर विमलेन्द्र निधिले आफ्नै गूट बनाएपछि देउवा कमजोर देखिएका थिए । पौडेलले पार्टी सभापति हुने आफ्नो चिर इच्छित कामना पूरा गर्ने यो सबैभन्दा स्वर्णिम अवसर थियो । तर उनको गूटमा महत्वाकांक्षीहरु बढेपछि उनले गूटलाई एकजूट राख्न सकेनन् । अन्ततः आफ्नो कामना त्यागेर कम्ती गूटको एउटा मात्र उम्मेदवार दिनपनि उनी सकेनन् । आइतवार पत्रकारहरु सामू अब आफू राजनीतिबाट अलग्गिने चाहना राखिरहँदा उनको यो दुःख छचल्किएको थियो । उता निधिले अलग्ग गूट बनाएपछि देउवा कमजोर देखिएका थिए, तर सिटौला गूटले तालमेल गरेपछि यस पटकपनि उनि सबैभन्दा बलिया प्रतिस्पर्धी देखिएका छन् । होइनभने, पौडेल गूट एक भई दिएको भए यस पटक देउवाको हातबाट पार्टी नेतृत्व गुम्ने स्थिति थियो । त्यसैले पहिलो चरणमा फैसला भएन भने त परिणाम कस्को पक्षमा जान्छ भन्ने अहिले नै भन्न सकिँदैन । होइनभने यस पटकपनि पार्टी नेतृत्व पहिलो चरणमै देउवाको पक्षमा गइरहेको सम्भावना प्रबल देखिन्छ । हुनपनि नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन भएपनि अथवा नभएपनि राजनीतिक वैचारिक अर्थमा कुनै परिवर्तन नहुने निश्चित नै छ । नेपाली काँग्रेसमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद राजनैतिक नार ासम्ममा मात्र सिमित छन् ।
समाजवादले योजनाबद्ध, सामूहिक र मिश्रित अर्थराजनीतिक नीतिको वकालत गर्छ, लोकतन्त्रले जनहितलाई प्राथमिकता दिन्छ भने राष्ट्रियता भनेको देशहित हो । सम्विधानले पनि राष्ट्र भनेको देशमा बस्ने सबै नागरिक भनेको छ । तर वैदेशिक लगानी, नाफा बजार र निजीक्षेत्रलाई प्रधानता दिने निजीकरणर उदार अर्थतन्त्र तथा यसैलाई बल पु¥याउने राजनीतिक बहुदलियताको निति ल्याउने नेपाली काँग्रेस नै हो । ०५० सालमा निजीकरणको प्रस्ताव तत्कालीन अर्थमन्त्री रामशरण महतले ल्याएका थिए, जस्लाई तत्कालीन राजा विरेन्द्रले स्वीकृति दिएका थिए । यो निजीकरणको कूप्रभावबाट देश अहिलेपनि निस्कन सकेको छैन । यो निजीकरण र बजारको प्रभाव नै हो कि देशको समृद्धि जनताको गुणात्मक जीवनस्तर भन्दापनि पूँजी सञ्चय र बजारको कारोबारमा नाप्ने गरिन्छ । वैदेशिक पूँजीको असीमित प्रवाह तथा यसै कारण सबैक्षेत्रमा वैदेशिक लगानीको कमीसनबाट जन्मिएको दलालपूँजीपतिहरुको वर्चस्वप ियसैको परिणाम हो । कुनै बेला थोरै खर्चमा र जनताबीच काम गरेको आधारमा नेताहरु लोकप्रिय हुने गर्थे र चुनाव जित्ने गर्थे । तर अब दलालपूँजीपति वर्गको सहयोग र समर्थन भएन भने, न त प्रोपोगन्डा गरेर अनुकूल वातावरण निर्माण गर्न सकिन्छ, न त चुनाव जित्न सकिन्छ । र दलालपूँजीपतिहरुको समर्थन प्राप्त गर्न उनीहरुको हितमा काम गर्नुपर्ने हुन्छ । यसरी अहिले समग्र राजनीति र चुनाव विशाल आर्थिक लगानीको व्यवसाय जस्ता भएका छन् र राजनीतिक नेताहरु यस व्यवसायमा लगानीका माध्यम वा कमीसन एजेन्ट जस्ता भएका छन् । पार्टीहरु भित्र गूट र उपगुटको निर्माण भित्र यी लालसा तथा नयाँ पूँजीपतिहरुको प्रवेशपनि हो । अब त पार्टीहरुमा पूँजीपतिहरु प्रत्यक्षरुपमा सामेल हुँदैछन् । राजनीतिक आन्दोलन र संघर्षका बेला तटस्थ बस्ने वा पुरानै सत्ताको चाकरीमा रहने तथा कुनैपनि राजनीतिक पृष्ठभूमि नभएका पूँजीपतिहरु पार्टी नेतृत्वमा वा साँसद र मन्त्री किन बन्न आउँछन ? प्रष्ट छ नि, यिनीहरु आफ्नो व्यावसायिक स्वार्थ पूरा गर्नलाई पार्टीभित्र गूटहरुलाई निर्णायक तहमै आफू अनुकूल प्रभावित गर्नलाई हो । देशमा राजाशाहीका बेला राजकुमार धिरेन्द्र नजिकका मानिने रकुनै बेला एमालेमा रहेका विनोद चौधरी अहिले नेकामा मधेशी कोटाबाट केन्द्रिय सदस्यको निम्ती प्रतिस्पर्धा गर्दैछन् ।
उनको उद्देश्य अरु के होला ? दलालपूँजीपतिहरुनेकाभित्र मात्रै छन् भन्ने होइन, हरेक पार्टीभित्र यस्तै छ । तर यिनीहरुको निम्ती अवसर निर्माण गर्ने कारक राज्यले अवलम्बन गरेको निजीकरणको नीति नै हो । यस निजीकरणको प्रभाव कतिसम्म छ भने अहिले देशले सार्वजनिक, निजी र साझेदारीको तीनखम्बे निती अवलम्बन गरेपनि निजीकरण नै मूल हो र बाँकी दुई देखाउने दाँत सरह हुन् । वीपी सैद्धान्तिकरुपमा राजनीतिमा उदारताका पक्षधर थिए भने आर्थिक नीतिमा उनी जनहित प्रति लक्षित मिश्रित अर्थप्रणालीका पक्षधर थिए । तर अहिलेको नेका पूर्णतः निजीकरणको पक्षधर छ । नेपाली काँग्रेस खुम्चिँदै जानूमा यस वैचारिक विचलनको भूमिकापनि छ भन्ने दुखेसो केही आदर्शवादी र पुराना नेका कार्यकर्ता र नेताहरुमा अहिलेपनि पाइन्छ । तर अहिले शीर्ष नेतृत्वमा प्रतिस्पर्धा गरिरहेका नेताहरुलाई यतातर्फ सोँच्ने न त फुर्सद छ, न आवश्यकता नै छ । यस पटकको महाधिवेशनमा पनि पार्टी नीति बारे चियो चासो हुने छैन । यस पटकपनि नेका महाधिवेशन सभापति लगायत नेतृत्व छानेर सकिने छ । यो गैरवैचारिकता अन्य पार्टीभित्रपनि छ । वस्तुतः नेका मात्र होइन, नेपालको समग्र राजनीतिमै जन आधारित राजनीतिक वैचारिक परिवर्तनको खाँचो छ । तर नेकाभित्र यस पटकको महाधिवेशन नयाँ नेतृत्व चयनमै सीमित रहनेछ र विचारभने पुरानै रहनेछ ।