प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बुधबारका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबारका लागि प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो । बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकका लागि तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
भोलि बस्ने बैठकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरुलाई जानकारी गराइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जनाए । उनका अनुसार भोलि बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।
यद्यपि, नेपाली काँग्रेसको १४ औं महाधिवेशन लम्बिएका कारण काँग्रेसका प्रदेशसभा सदस्यहरु महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले भोलिको बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना रहेको सत्ता पक्षको भनाइ छ ।