सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रदेश २ को विकासकालागि सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।
उनले वर्तमान सरकारले प्रदेश २ को विकास निर्माण देखि स्वास्थ्य शिक्षा लगायत संघीय सरकारवाट हुने हरेक प्रकारको विकासकोलागि सरकार प्रतिवद्ध रहेको उनले बताइन् । जनकपुरधाममा वुधवार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले सरकारले जनताको स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेको बताईन् । जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको निर्माणपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख प्रगति हुने विश्वास व्यक्त गर्दै मन्त्री झाँक्रीले सरकारले ल्याएको स्वास्थ्य योजनालाई सफल बनाउन सबैसँग आग्रह समेत गरिन् । उनले जनकपुरधामको बस पार्क तथा लैण्डफिल साइटकोलागि सरकारले सक्दो सहयोग गर्ने बताइन् । उनले भनिन्–‘ जनकपुरधामको विकास निर्माणमा व्यापक परिवर्तन भएको छ, आफ्नो मातहतको मन्त्रालयवाट हुन सक्ने सवै सहयोग गर्न तयार छौं ।’ स्थानीय सरकारलाई स्वामित्व लिन आग्रह गर्दै मन्त्री झाँक्रीले आफ्नो मातहतको मन्त्रालयवाट जनकपुरधामको विवाहमण्डप, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन तथा प्रदेश मेडिकल स्टोर भवन सवैको स्वामित्व लिन आग्रह गरिन् । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरिएका भवन तीनै तहबीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताउँदै स्रोत साधनको अभावमा समेत कोभिड–१९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा गरे ।
जनकपुरधामको विकास निर्माणमा प्रदेश सरकारले चासो नदेखाएको होइन्, हामी संग रहेको स्रोत साधनले विकास निर्माणमा आमुल परिवर्तन ल्याई सकेका उनले बताएका थिए । जनकपुरधामको विकास निर्माण भन्दा बढी फोहर व्यवस्थापन तिर केन्द्रित हुनु पर्ने आवश्यकता रहेको बताउँदै विगतमा भएको राजनीतिक प्रभाव अहिले हामी प्रदेशवासीनै भोगि रहेको तर्क गरे । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्र हाताभित्र निर्माण हुन लागेको उक्त भवनको सहरी विकासमन्त्री झाँक्री, प्रदेश २ का मुख्यमन्त्री राउत, सामाजिक विकासमन्त्री नवलकिशोर साह र वन, पर्यटन मन्त्री सत्रुधन महतोले संयुक्तरूपमा शिलान्यास गरेका थिए । कूल सात करोड २७ लाखको लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढे तीन तल्ले भवन २०८० साल वैशाख ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने चार करोड ४२ लाखमा निर्माण हुने प्रदेश मेडिकल स्टोरसमेत डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए । सो अवसरमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृहको समेत उद्घाटन गरिएको थियो ।
जलेश्वरनाथ मन्दिरको विकासका लागि सक्दो पहल गर्छुँ : मन्त्री झाँक्री
जलेश्वर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकी छिन् । उनले वुधवार मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्वारका लागि पहल गर्ने बताइन् । जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिइन् । उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गरेका थिए । मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले मन्त्री झाँक्रीलाई पूजामा सहयोग गरेका थिए । यता, संघीय शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मटिहानीको धार्मिक, पर्यटकीय महत्वलाई बढाउन आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
बुधबार महोत्तरीको जलेश्वरमा रहेको जलेश्वरनाथ महादेवको दर्शन पछि मटिहानी पुगेकी मन्त्री झाँक्रीले यस्तो प्रतिबद्धता जनाएकी छिन् । मटिहानी अवलोकन भ्रमणको क्रममा उनले मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा दर्शन एवं पूजापाठसँगै ऐतिहासिक एवं पौराणिक लक्ष्मीनारायणसरको अवलोकन समेत गरेकी थिइन् । सो अवसरमा मटिहानी नगरपालिकाका प्रमुख मण्डलले मटिहानी नगरपालिकाको ऐतिहासिक र धार्मिक महत्वको बारेमा जानकारी गराएका थिए । मन्त्री झाँक्रीलाई लक्ष्मीनारायण मठका महन्थ जग्गनाथ दास शास्त्रीले स्वागत सहित मठको अवलोकन गराएका थिए ।


