रामायण सर्किट अवधारणा अन्तरगत १ सय ४० जना भारतीय धार्मिक पर्यटक जनकपुरधाम आइपुगेका छन् ।
जनकपुरधामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको रामायण सर्किट यात्राका यात्रीहरु बुधबार जनकपुरधाम आइपुगेका हुन् । भारतीय रेल्वे क्याटरिंग एण्ड टुरिज्म कर्पोरेशनको अगुवाइमा १ सय ४० जना पर्यटक जनकपुरधाम आइपुगेका छन् । पर्यटन व्यवसायी विनय साहका अनुसार भगवान राम प्रति आस्था राख्ने पर्यटकहरुकोलागि आइसीआरटीले एउटा बिशेष ट्रेनको व्यवस्था गरेको छ । दिल्लीबाट सुरु भइ अयोध्या हुंदै मंगलबार सो ट्रेन सीतामढी आएको र सीतामढीबाट बस मार्ग हुंदै पर्यटकहरु जनकपुरधाम आइपुगेका हुन् । मंगलबार सीतामढी आइपुगेका यात्रुहरु बुधबार जनकपुरधाममा विश्राम गर्ने कार्यक्रम रहेको छ । जनकपुरधाम आइपुगेको यात्रुहरुलाई स्थानीय होटल व्यवसायीहरुले रुद्राक्षको माला र टिका लगाइ स्वागत गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिशेष पहलमा सुरु भएको आइआरसिटीको रामायण सर्किटसंग जनकपुरधाम समेत जोडिएकोले यहाँको यात्रा पनि अनिवार्य गरिएको छ । रामायण सर्किट भित्र त श्रीलंका सम्मको यात्रा सम्बन्धी जिज्ञासामा पर्यटन व्यवसायी साहले भने,‘त्यसलाई अतिरिक्तमा राखिएको छ,जसलाई इच्छा छ उ जान सक्छ’। जनकपुरसम्म ट्रेनको सुविधा नभएकोले सीतामढीबाट बसमा ती यात्रुहरु जनकपुरधाम सम्म आइपुगेका हुन् । ८ सय भन्दा बढी पर्यटक जनकपुरधामसम्म आउने कार्यक्रम भएपनि जनकपुरधाममा होटल लगायत अन्य साधनको अभावका कारण १ सय ४० जना मात्रै आएका छन् ।
यहाँ पर्यटक आएपनि टुरिष्ट गाइडको अभाव ,स्थानीय रुपमा अतिथि प्रतिको भावमा कमी लगायतका कारणले यहाँ पर्यटकहरुलाई विभिन्न किसिमको समस्या भोग्नु परेपनि जनकपुरधामको पर्यटन प्रवद्र्धनको लागि गरिएको यो प्रयास भविष्यमा सकारात्मक प्रभाव पार्ने अनुमान यहाँका होटलव्यवसायीहरुको छ । जनकपुरधाम आइपुगेका यात्रुहरु एक रात विश्राम गरी सीतामढी फर्किने कार्यक्रम रहेको छ । विगत एक महिना अगाडिदेखि ‘देखो अपना देश’को नाराको साथ सुरु भएको आइआरसीटिको बिशेष ट्रेनको यात्रा दिल्लीबाट सुरु भइ अयोध्यामा विश्राम गर्ने गरेका छन् । अयोध्यामा रहेका रामजन्मभूमि मन्दिर,हनुमान मन्दिर,तथा नन्दीग्राममा रहेको भरत मन्दिर दर्शन गर्ने कार्यक्रम निर्धारण गरिएको छ । जनकपुरधामदेखि सीतामढी हुंदै काशी तर्फ जाने र अन्तिममा दक्षिण भारतको रामेश्वरम सम्म पुग्ने गरेको बताइएको छ । १७ दिन सम्म चल्ने यो यात्राको क्रममा आउने पर्यटकहरुको संख्यामा दिनानुदिन बृद्धि हुने विश्वास गरिएको छ । जनकपुरधाममा पनि पर्याप्त मात्रामा होटलहरुको अभाव छ,पर्यटकहरुले खोजेको जस्तो सुविधा अझै पनि छैन ,धेरथोर होटल छन् तर एकै चोटी पाँच सय जति पर्यटक आए भने कोठा समेत नपाउने अवस्था हुनु दुर्भाग्यपूण रहेको पर्यटन व्यवसायीहरुको कथन रहेको छ ।
एकातिर जनकपुरधामको पर्यटनलाई अगाडि बढाउनु पर्छ भन्ने भाषण दिनु र अर्कोतिर पर्यटक आयो भने बस्ने खाने उचित व्यवस्था समेत नुहुनु ठूलो बिड्म्बना रहेको उनीहरुको धारणा छ । त्यस्तै गाइडको अभावमा यहाँ आउने पर्यटकहरु जानकी मन्दिर हेरेर यहाँ विश्रामै नगरी पनि फर्किने गरेको अवस्था रहेको दुखेसो टुर्स एण्ड ट्रेभल्स संचालक वीरेन्द्र साहको छ ।


