अपडेट 
२०७८ पुष ३, शनिबार ०७:३९

आजको विषयको उपस्थापन आफ्नै पोष्ट र यसका प्रतिकृयाहरुबाट गर्न मन लाग्यो । शुक्रवार विहान मैले आफ्नो फेसबूक वालमा लेखेको थिए – मूल प्रवाहका दलहरु मुलुक भित्रका बहुराष्ट्रिय , बहुभाषिक, बहुसांस्कृतिक र बहु धार्मिक विविधतालाई संवोधन गर्न सकेन । कथित मधेसवादी दल जातीय माईजन–देवान जस्ता भए । विकल्प खोज्ने कि ?? ’ मेरो यस भनाईको प्रतिउत्तरमा सुरेन्द्र यादव नामका एक महाशयले वडो घत लाग्दो तथा शालीन प्रतिकृया दिनु भयो । उहांले लेख्नु भयो – ‘ महोदय , यहा जस्तो ब्यक्तित्वले, आरोपित गर्न खोजेको कुन चै मधेसबादी दल होला ? मेरो बिचारमा जनाधारको सबालमा कांग्रेस राष्ट्रिय दल हुदै गर्दा पनि कुनै समय मधेस उनको गढ कहलिन्थ्यो । जसपा र रासपा पनि क्षेत्रिय भन्दा राष्ट्रिय उन्मुख दलमा रूपान्तरित हुदैछ । यहांको पोष्टहरू स्तरिय हुने गरेको छ । मेरो लागी तर यो पोष्ट ले म संतुष्ट हुन सकिन महोदय । यहाहरू समाज को धरोहर हुनुहुन्छ , समाज को ऐना हुनुहुन्छ । ’ सामाजिक सञ्जालमार्फत एक अर्कालाई गाली गलौज गर्ने , झुठा प्रलाप गर्ने अनि भ्रम फैलाउने आजको माहौलमा आदरनीय सुरेन्द्र यादवजीको सालीन प्रतिकृया मलाई औघी मन पर्यो । सुरेन्द्रजीहरुको सकारात्मक पोष्टकै कारण सामाजिक सञ्जाल विचार मंथनको थलो हुन सक्ने संभावना जिवित छ । भरखरै सम्पन्न भएको नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मार्फत छानिएका नेतृत्वको अनुहार हेरेपछि मैले आफ्नो सामाजिक सञ्जाल मार्फत राखेको जिज्ञासाको थोर बहुद जवाफ आउ“छ जस्तो लाग्छ ।

नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोश्रो कार्यकालका लागी सभापति चयन भएका छन् । यसै महाधिवेशनमा नेपाली कांग्रेसमा तीन पुस्ते राजनीतिक लिगेसी भएको विमलेन्द्र निधीले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । उनले २ सय ५० मतमात्र प्राप्त गर्न सकेको दृश्य पनि देख्यौं । जवकि कोर मधेस भनिएको प्रदेश २ मामात्र ८ सय भन्दा अधिक महाधिवेशन प्रतिनिधी ( भोटर ) थिए । कांग्रेसका दुई उपसभापतिमा क्रमश ः पूर्णबहादुर खडका (२१२१मत ) र धनराज गुरुंग ( १९०८ मत ) ल्याएर विजयी भए । जबकि देउवा समूहकै थारु मूलका विजयकुमार गच्छेदार ( १९०६ मत ) दुई मतले पराजित भए । महामन्त्रीमा झण्डै दुई तिहाई मत प्राप्त गरेर गगन थापा ( ३०२३ मत ) र विश्वप्रकाश शर्मा (१९८४ मत ) विजयी भए । पदाधिकारीहरुमध्ये सहमहामन्त्रीका ८ आरक्षित पदमा मधेसी कोटामा महेन्द्र यादव , रामकृष्ण यादव र रञ्जीत कर्णमध्ये एक मधेसी जित्नु नै थियो । महेन्द्र यादव जिते । अर्थात् आरक्षित कोटा भन्दा बाहिर एउटै पनि मधेसी पदाधिकारी बन्न सकेनन् । केन्द्रिय सदस्यमा पनि मधेसी कोटा बाहेक अन्य समूहमा कोही जित्छन जस्तो लाग्दैन । एमालेको पनि यही अवस्था रह्यो । १९ सदस्यीय पदाधिकारीमा रघुवीर महासेठ बाहेक अरु अटाउन सकेनन । ४५ सदस्यीय स्थायी कमिटीमा तीन जना अर्थात् महासेठका अतिरीक्त लालबाबू पण्डित र प्रभु साहमात्र अटाउन सके । ९९ सदस्यीय पोलिटब्युरोमा पनि मधेसी र थारु समेतगरी संख्या दुई अंकमा पुग्न सकेको छैन । न त मुसलीम अटाउन सकको छ न जनसंख्याको अनुपातमा दलित नै । संवैधानिक राजतन्त्रको चर्का नारा धन्काएर कमल थापा जस्ता पाका राजनीतिज्ञलाई पाखा लगाउदै अध्यक्ष पदमा निर्वाचित भएका राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा त झन असमावेशी देखिएको छ । राप्रपाका तीन महामन्त्रीमा कुन्ती शाही, धवलशमशेर राणा र भुवन पाठक छानिएका छन् । यस्तै उपाध्यक्षमा विक्रम पाण्डे , ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन् ।

राप्रपाको पदाधिकारीमा एउटैपनि मधेसी र मुसलमान अनुहार अटाउन सकेका छैनन् । दलित जनजातिमा पनि सबै पहाडे मूलककै छन् । तर मैले मूल प्रवाहको पार्टी भनेका यी दलहरुको असमावेशी तस्वीर देखेर आदरणीय सुरेन्द्र सरको जिज्ञासा शान्त होला जस्तो लागेन । कारण उहा“को मुख्य आपत्ती मधेसी दलहरुलाई माइजन–देवान भनेको विषयमा बढि थियो । मुलुकमा जातीय क्लष्टरको चर्चा गर्दा ब्राह्मण, क्षेत्री, आदिवासी, जनजाति, मधेसी, थारु, मुसलमान आदिलाई बुझ्ने चलन छ । मधेसमा भने अलि भिन्न छ । मधेसमा जातीय क्लस्टरको सामान्य अर्थ लगाईन्छ – यादव , वैश्य , दलित, मुसलमान, डिका, थारु, जनजाति आदि । अलि मधेसी क्लस्टर बारे कुरा गरौं – यादवमा आधा दर्जन अधिक जात जाति समाहित छन् । वैश्यमा पनि यस्तै अवस्था छ । डिकामा चार जाति समाहित छन् । मुसलमानमा पनि जातीय विविधता छ । अलि कल्पना गरौं वैश्य क्लस्टरका तेली, सूडी, कानू, कलवार, विआहुत, सघाहुत आदिको जनसंख्या जोड्ने हो भन्ने कति प्रतिशत पुग्छ ? डिका अन्तरगतका धानुक, केवट, कुर्मी र अमातको जनसंख्या जोडेमा कति प्रतिशत पुग्छ ? दलितमात्रको जनसंख्या प्रदेश २ मा कुनै पनि जातीय क्लस्टर भन्दा अधिक छ । तर प्रदेश २ सरकारमा एउटै पनि दलित क्लस्टरका मन्त्री छैनन् । डिका क्लस्टरका मन्त्री छैनन् । एउटै पनि महिला केबिनेटमा छैनन् । यो असमावेशी होइन भने के हो ? मधेस केन्द्रित भनिएका जसपा र लोसपाको केन्द्रिय पदाधिकारी, जिल्ला अध्यक्ष, जसपाद्वारा प्रदेश २ र संघीय सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको अनुहार हेर्दा जाती विशेषको बोलवाला देखिन्छ । त्यसैले मैले भन्ने गरेको छु । असमावेशी दलबाट समावेशी समाजको निर्माण हुन सक्दैन । विकल्प खोज्ने कि ?

Comment


Related News

Latest News

Trending News