नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा डा.शेखर कोइराला समूहले उम्मेदवार नउठाउने भएको छ ।
कोइराला समूहले सोमबार तालमेलका अन्य उम्मेदवारको नाम सार्वजनिक गर्ने जनाएको छ । यस अघि संस्थापन पक्षबाट रौतहटका निवर्तमान जिल्ला अध्यक्ष कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका थिए । महाधिवेशन हुनु अघि सम्म मन्त्री यादवलाई सघाउने मनस्थितिमा रहेको कोइराला समूहले सभापति बाहेकका पदमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।तर उम्मेदवारको नाम अझै टुंगो लागिसकेको छैन् ।कोइराला समूहका केही नेताहरुले सभापति लगायतका पदहरुमा मन्त्री यादवसित तालमेल हुने जनाएका छन् । ‘उम्मेदवार छनौटका लागि छलफल भएको छ ’सो समूहका नेता रामकृष्ण यादवले भने, सोमवार पत्रकार सम्मेलनबाट समूहका उम्मेदवारहरुको नाम सार्वजनिक गर्नेछौ ।अन्य दलहरुसित तालमेल हुने संभावनालाई अस्वीकार गर्न नसकिने उल्लेख गर्दै उनले भने, रञ्जित कर्ण उम्मेदवार हुने छैन् । कोइराला समूहकी नेतृ किरण यादवले भने अन्य उम्मेदवार हरुसित तालमेल हुने संभावना जिउँदो रहेको बताइन् ।‘प्रदेशमा मतको आकलन गरी उम्मेदवार उठाउने अथवा तालमेल गर्ने निर्णय सोमबार बिहान सम्म हुनेछ’ उनले भनिन्, तर उम्मेदवार नै उठाउने संभावना कमजोर छ । कोइराला समूह निकटका जिल्ला नेताहरुका अनुसार सभापतिमा उम्मेदवारी दिनु भन्दा तालमेल गरी चुनावमा जाँदा केही प्रदेश समितिमा केही सिट प्राप्त हुने संभावना रहने छ ।
प्रदेश २ का लागि कोइराला समूहबाट निर्वाचित महामन्त्री गगन थापा, चन्द्र भण्डारी लगायतका नेताहरुले विमलेन्द्र निधिसित तालमेलका लागि आईतवार राती पनि छलफल गरेका छन् ।सभापतिमा मन्त्री यादव र उपसभापतिमा कोइराला समूहबाट उम्मेदवार उठाइने सहमति भएको छ । प्रदेश २ मा १ हजार ८ सय भन्दा बढी मतदाता रहेका छन् ।प्रदेशमा संस्थापन पक्षको स्थिति बलियो छ ।तर कोइराला समूहले मन्त्री यादवलाई समर्थन जनाएपछि अवस्था फेरिने संभावना छ ।कोइराला पक्षको समर्थनले प्रदेशको चुनावी समीकरण नै फेरिन सक्छ । महाधिवेशनमा सन्तुलित भूमिका निर्वाह गरेका मन्त्री यादवले प्रदेश सभापतिको उम्मेदवारी घोषणा पनि स्वतन्त्र रुपमा नै गरेका हुन् ।उनले आफूलाई गुट भन्दा अलग राखेर उम्मेदवारी दिएको दाबी गर्दै आएका छन् ।कोइराला समूहले सघाउने उनको विश्वास छ । महाधिवेशनमा निधिले ‘साख जोगाउन’ सभापति देउवालाई समर्थन गरेपनि प्रदेशमा कोइराला समूहसित तालमेलका लागि सघन छलफलमा जुटेका छन् । सभापतिको दोस्रो चरणको मतदानमा निधिले देउवालाई समर्थन जनाएपछि पार्टी भित्र उनको चर्को आलोचना भइरहेको छ । देउवा समर्थित उम्मेदवारका विरुद्ध सक्रिय भएका निधिले कोइराला समूहसित नजिकिने प्रदेशको चुनावलाई अनुकूल ठानेका छन् ।महाधिवेशन चुनावमा अत्यन्त कमजोर प्रदर्शन देखिएपछि निधि प्रदेशमा तालमेल गरी मन्त्री यादवलाई जिताउन बाध्यात्मक परिवेशमा परेको बताइन्छ ।
महाधिवेशन अगावै ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भइसकेपनि प्रदेश २ को नेतृत्व चयन प्रक्रियालाई पछाडि धकेलिएको थियो । प्रदेश नेतृत्वका लागि निर्वाचन समितिले मंगलवार मनोनयन दर्ता लगायतका प्रक्रियाहरु र बुधवार मतदानको कार्यक्रम सार्वजनिक गरिसकेको छ ।प्रदेश २ का आठवटै जिल्ला अधिवेशन भने बाँकी नै छ ।केही जिल्लामा वडा र क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन् ।
प्रदेश चुनाव बहिष्कारको चेतावनी
मलंगवा ।सर्लाही जिल्लाको बलरा नगरपालिकाको वडा नम्बर ८ र ९ को प्रतिनिधि छनौट नभए निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश क र ख का प्रतिनिधिहरुले बहिष्कार गर्ने चेतावनी दिएको छ । क्षेत्र नम्बर ४ का सांसद समेत रहेका नेता अमरेश कुमार सिंहले वडाको प्रतिनिधि छनौट नगरिए क्षेत्रको क र ख प्रदेश क्षेत्रले प्रदेशको चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन् । सर्लाही जिल्लाको अधिवेशन सम्पन्न भए पनि वलरा वडा नम्बर ८ र ९ को प्रतिनिधि छनौट हुन सकेको छैन् ।सिंहलाई महाधिवेशन प्रतिनिधिमा हराइएको हो ।सांसद सिंह कांग्रेसको केन्द्रीय राजनीतिमा डा.शेखर कोइराला समूहमा छन् ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA


