जनकपुरधाम । धनुषाको ढल्केबरमा प्रहरीको चेक जाँचलाई छलेर भाग्ने क्रममा एक भारतीय गाडी दुर्घटनाग्रस्त भएको छ ।
लागुऔषध बोकेर आउंदै गरेको सूचनाको आधारमा धनुषा प्रहरीले सो गाडीलाई ढल्केबरमा चेक जाँच गर्न लाग्दा नरोकीकन तीव्र गतिमा भाग्ने प्रयासको क्रममा ढल्केबरबाट जनकपुरधाम तर्फ आउंदै गर्दा बसही पुलमा गाडी दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए । दुर्घटना पछि बी.आर.३२ के ९१२७ नम्बरको स्र्कपियोबाट साढे १९ किलो तयार गाँजा बरामद गरिएको छ । दुर्घटना पछि चार पाँच जनाको समूहमा रहेका लागुऔषध तस्करहरु फरार भएपनि नजिकैको उंखु खेतमा लुकेर बसेका एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार राज्यको मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायतका २२ वर्षीय विजय कुमार महतो रहेका छन् । सूचना अधिकारी बस्नेतका अनुसार चेकजाँच गर्न लाग्दा नरोकेर भाग्न थालेपछि इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलिले पछाडि गर्दा सो स्कारपिओबाट ढल्केबरबाट करिब पाँच सय मिटर दक्षिण आएर सडक छेउमा गाँजा फालिएको बरामद भएको थियो । रातो प्लास्टिकमा १९ किलो ५ सय ग्राम गाँजा बरामद गरिएको जनाइएको छ ।
गाँजा, स्कारपिओ सहित पक्राउ परेका महतोमाथि कारवाही लागुऔषध मुद्दा अन्तर्गत प्रक्रिया अढि बढाएको जानकारी उनले दिए ।


