अपडेट 
२०७८ पुष ५, सोमबार ०६:५३

राजविराज । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले शिक्षा क्षेत्रको विकासमा प्रदेश २ सरकार अग्रसर रहेको बताएका छन् ।

सप्तरी अग्निसाईर कृष्णासवरन गाउंपालिका –४ स्थित माध्यमिक विद्यालय प्रशवनीमा आइतबार आयोजित एक कार्यक्रममा उनले भने ,‘ विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रको विकासको लागि सरकार अग्रसर रहेको छ ।’ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर बढाउने सरकारको नीति रहेको चर्चा गर्दै मन्त्री साहले सरकारी विद्यालयहरुमा अध्यापनका लागि प्रोत्साहन गर्न साईकल, ल्यापटप वितरण तथा छात्रवृत्ति लगायतका कार्यक्रम समेत साथै अघि सारेको उल्लेख गरे । मन्त्री साहले मुलुकको विकास र समृद्धिका लागि जनता जागरुक हुनुपर्नेमा जोड दिए । जनताले जनप्रतिनिधि छान्दा भूल गरेका कारण विकास र अधिकारबाट बञ्चित हुनुपरेको भन्दै मन्त्री साहले आफ्नो प्रतिनिधि छनौट गर्ने बेलमा जनता सजक हुनुपर्ने आबश्यकता औंल्याए । ऐतिहासिक विद्यालयको अवलोकन गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउंदै मन्त्री साहले विधालयका संस्थापक महिकार प्रसाद सिंहको शालिक स्थापना तथा विधालयको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विकास तिवारीले सामुदायिक विद्यालयहरुमा शैक्षिक स्तर खस्किंदै गएको प्रति चिन्ता व्यक्त गरे ।

दक्ष जनशक्ति पर्याप्त सरकारी सेवा सुविधाको व्यबस्था हुंदा समेत सामुदायिक विद्यालयमा विधार्थीहरुको आकर्षण घट्नु दुःखद रहेको बताए । नेता तिवारीले प्रदेश २ सरकारले शिक्षा क्षेत्रको विकासलाई प्राथामिकता राखेकोमा सरकारको प्रशंसा गर्दै प्रदेश सरकारको नीतिले सामुदायिक विद्यालयहरुको शैक्षिक क्षेत्रमा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । शिक्षक रामकृष्ण यादवद्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक उपेन्द्र प्रसाद साहले विद्यालयको समस्याहरुबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश परिषद सदस्य भुपेन्द्र प्रसाद चौधरी, जिल्ला कोषाध्यक्ष वृजमान तामाङ, जिल्ला सदस्य तथा अग्निसाईर कृष्णसवरन गाउंपालिका अध्यक्ष सत्यनारायण चौधरी, जिल्ला सदस्यहरु दिनेश कुमार साह, राम कुमार चौधरी, मोतिलाल चौधरी, कुशेश्वर चौधरी, गाउंपालिका सचिव मिलन चौधरी, अग्निसाईर कृष्णासवरन गाउंपालिकाका कार्यापालिका सदस्य जानकी चौधरी,आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका सदस्य शम्भु चौधरी लगायतका स्थानीय बुद्धिजीवीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News