२०७८ पुष ५, सोमबार ०६:५७

राजविराज । पुस्तौदेखि गिरहत खट्दा पनि ऋण मोचन नभएको भन्दै सप्तरीका हरवाचरवाहरुले यसका लागि पहल गरिदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

हरवाचरवा अधिकार मञ्च सप्तरीले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । अन्तरक्रियामा हरवाचरवा अधिकार मञ्चका राष्ट्रिय महासचिव नागेन्द्र सदाले भूमिहीन भएका कारण जग्गाधनीको घरमा हरवाचरवा बसेकाहरु उल्टै ऋणमा डुबेको र त्यसलाई भुक्तान गर्ने क्रममा अर्को पुस्ताले पनि हरवाचरवाकै काममा खट्नु परिरहेको पीडा पोखे । यति गर्दा पनि ऋण मोचन हुन सकेको छैन्, उनले भने, सरकारले हरवाचरवाको बारेमा विशेष व्यवस्था गरेर भएपनि मुक्त गरी दिन जरुरी छ । श्रीपूर्राज समुदायिक विकास केन्द्रका टीम लिडर बिनोदानन्द चौधरीले हरवाचरवाका बालबालिकालाई निःशुल्क गुणस्तरीय शिक्षाको व्यवस्था र परिवारजनलाई रोजगारी उपलब्ध गराउनु पर्ने माग गरे । उनले हरवाचरवाको परिवारजनको कार्यक्षमता बढाउन तालिमको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए ।

हरवाचरवा अधिकार मञ्च सप्तरीको आयोजना तथा द फ्रिडम फण्ड, दलित चेतना संगम र श्रीपूराज सामुदायिक विकास केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, कानून व्यवसायी शेखर खंग, कांग्रेसकी सरवेश्वरी झा, जनता समाजवादी पार्टीका शम्भु यादव, लोकतान्त्रिक समाजवादी पार्टीका महिनारायण यादव, नेकपा एमालेका अखिलेश झा, गैससकी रिया सन्चेती, श्यामकान्त चौधरी, भूमिअधिकार मञ्चका सुरैत सदा, दलित चेतना संगमका कार्यकारी निर्देशक गणेश राम लगायतले हरवाचरवाको समस्यालाई गंभीरताका साथ लिंदै यसका समाधानकालागि आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

Comment


Related News

Latest News

Trending News