२०७८ पुष ५, सोमबार ०७:००

जनकपुरधाम । कृषि ज्ञानकेन्द्र धनुषामा हाकाहाकी घुस लिइकन मात्रै काम हुनेगरेको किसानहरुले गुनासो गरेका छन् ।

स्यालो ट्युबेल जडान,इनार निर्माण ताथ मोटर /पम्पसेट सिंचाइ कार्यक्रम अन्तरगत आंशिक अनुदान वितरण कार्यक्रममा केन्द्रका कर्मचारीहरुले कमिशन माग्ने गरेको किसानहरुको गुनासो छ । एक वा एक भन्दा बढी कृषक परिवारको जग्गा समावेश गरी कम्तीमा दुई विघाको कलस्टरमा सिंचाइ हुने गरी कृषक परिवारको सहमति ,नागरिकताको प्रमाणित प्रतिलिपि तथा २ सय रुपियां राजश्व दस्तुर लगायतको प्रक्रिया पूरा गरेर फारम भरेपछि सहज रुपमै अनुदान दिइने प्रावधान भएपनि कर्मचारीहरुले कमिशन नदिने किसानको फारमको वेवास्ता गर्ने गरेका छन् । तर आप्mना नातागोता र नेताहरुको सोर्सफोर्स भएका किसानहरुलाई सहज रुपमै अनुदान रकम वितरण गर्ने गरेको खुलाशा भएको छ । कुनै पनि किसान अथवा कृषक समूहलाई ट्युबेल,इनार निर्माण तथा मोटर पम्पसेटकोलागि अनुदान दिनु पर्ने प्रावधान रहेको छ तर कर्मचारीहरुले अनुदानको २५ प्रतिशत भन्दा बढी रकम घुसमा माग्ने गरेको पीडित किसानहरुले गुनासो पोखे । लक्ष्मिनियां गाउंपालिका–२ सिनुरजोडाका किसान विश्वनाथ यादवले तीन वर्षदेखि लगातार कार्यालयमा धाउंदै आएको गुनासो पोखे ।

आफू दिनकै दिन कार्यालयमा धाउने गरेको र टुयुबेलको अनुदानबारे जानकारी लिन जाँदा भोजभात बिना कामै हुन्न भन्ने जवाफ कर्मचारीहरुले दिने गरेको किसान यादवले दुखेसो पोख्दै उनले भने,‘नेताको सोर्सफोर्स हुने किसानहरुले एउटै कृषक समूहलाई पटक– पटक अनुदान रकम उपलब्ध गराएको तर आफूलाई सहयोग गर्ने कोही नभएपछि गत तीन वर्षदेखि मुख ताकेर बसेको छुं।’ सरकारले किसानहरुलाई सहयोग गर्ने उद्देश्यले ल्याएको अनुदान कार्यक्रम कर्मचारीहरुको लागि एकातिर नेतालाई खुशी पार्ने आधार बनेको छ भने अर्कोतिर कमिशनको रुपमा गरीखाने भांडो बनेको आरोप धनुषाका परवाहाका किसान राजीव मिश्रा दुखेसो पोख्छन् । ‘फारम भरेका किसानहरुले पालैपालो अनुदान पाउनु पर्नेमा नेताहरुको सोर्सफोर्स भएकाहरुले तत्काल पाउंछन् ,कमिशन खुवाउनेहरुले पनि एक दुइ महिना मै अनुदान पाउंछन् तर सोझा साझा किसानहरुको फारम जाँच समेत गरिंदैन।’,केन्द्रका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने । उनले भने ,‘हाकिमसाहेबले कर्मचारीहरुलाई कमिशन नलिइकन कुनै पनि किसानको काम नगर्न आन्तरिक आदेश नै जारी गरेका छन् ।’ धान खेतीमा ठूलै क्षति बेहोरेका धनुषाका किसानहरुको लागि केही पनि गर्न नसकेको केन्द्रले किसानहरुले पाउनु पर्ने अनुदानमा समेत कमिशनखोरी गर्न थालेपछि किसानहरु मर्कामा परेका छन् ।

यता केन्द्रका प्रमुख शंकर प्रसाद साहलाई सोध्दा आफूलाई यसबारे केही जानकारी नै नरहेको बताए । उनले यदि कुनै कर्मचारीले घुस मागेको छ भने सो कर्मचारीको विरुद्ध निवेदन दिनु पर्ने झारो टार्ने अभिव्यक्ति दिएका छन् ।

https://www.youtube.com/watch?v=uHe58s1KjgA

Comment


Related News

Latest News

Trending News