२०७८ पुष ६, मंगलवार ०७:२९

नेपाली कांग्रेस प्रदेश २ को चुनावमा घमासान हुने भएको छ ।

पार्टीको १४ औं महाधिवेशनका लागि काठमाण्डुमा रहेका नेताहरु जनकपुरधाम आएका छन् । सभापति शेरबहादुर देउवा पक्षधर उम्मेदवार रौतहटका कृष्णा यादवलाई सघाउन कांग्रेसका केन्द्रीय सदस्यमा निर्वाचित गृहमन्त्री बालकृष्ण खाँड लगायतका नेताहरु अबेर राती जनकपुरधाम आइपुगेका छन् । विमलेन्द्र निधि भने दिउँसो नै आएका हुन् । नेता निधिले प्रदेश सभापतिमा मन्त्री यादवका लागि शेखर कोइराला समूहसित संवादलाई निरन्तरता दिएका छन् । सोमवार साँझ निधि र यादव सित कोइराला समूहका नेताहरु रामकृष्ण यादव र गुरु घिमिरेले मन्त्री निवासमा छलफल गरेका थिए । ‘सहमतिका लागि संवाद भइरहेको छ’ कोइराला पक्षबाट वार्तामा रहेका यादवले भने, तर हाल सम्म सहमति हुन सकेको छैन् । पदाधिकारी र सदस्यहरुमा बहुमत दिनुपर्ने माग आफूहरुले छलफलमा राखेको जनाउँदै यादवले भने, उहाँहरु आपसी छलफलमा जुट्नु भएकाले जवाफ प्राप्त नभएको बताए । ‘सभापतिमा रामसरोज यादवलाई सघाउन हामी तयार छौ’ उनले भने, तर अन्य पदहरुमा हाम्रो पक्षको बहुमत हुनुपर्छ । प्रदेश सभापतिका लागि दुई जना उम्मेदवार मात्र रहे पनि समूह तीन रहेका छन् । कोइरालाको समूहले सभापतिमा दाबी नगरी अन्य पदहरुमा बहुमत खोजेको छ । सभापतिका लागि संस्थापन इतरका उम्मेदवार प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई प्राथमिकतामा राखेको छ ।

स्रोतहरुका अनुसार कोइराला समूहले उपसभापति–१, महामन्त्री–१ र सहमहामन्त्री–२ मागेका छन् । तर छलफलमा रहेका नेता निधिले महामन्त्री–१ र सहमहामन्त्री–१ मात्र दिने अडान लिएका छन् । सभापति, दुबै उपसभापति र दुई जना सहमन्त्री लिने अडान निधिले नछाडेको कारण सहमतिमा ढिलाई भएको स्रोतले जनाए । सहमतिमा नेता निधि नै तगारो बनेको आरोप लगाउँदै सो समूहका एकजना नेताले भने, भित्रि रुपमा उनी कोइराला समूहलाई रोक्न खोजेका छन् । कोइराला समूहले संस्थापन पक्षका उम्मेदवार कृष्णा यादवलाई सघाउन इच्छुक नरहेकाले नेता निधि कमजोर मुल्यांकन गरी सीमित पद दिन चाहेको आरोप लागेको छ । प्रदेश २ मा अत्यधिक बलियो रहेका संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्न कोइराला समूहको समर्थन अनिवार्य भएको बताइन्छ । तर केन्द्रीय चुनावमा देउवालाई दोस्रो चरणमा सघाएका निधिलाई प्रदेश चुनावमा उनको उम्मेदवार विरुद्ध लाग्न सकस भएको छ । देउवा पक्षका घोषित उम्मेदवार कृष्णा यादवले आफ्नो उम्मेदवारी कायम रहेको बताउँदै गृहमन्त्री लगायतका केन्द्रीय नेताहरुको टोली चुनावमा सघाउन जनकपुरधाम आइपुगेको बताए । ‘प्रदेशमा बहुमत प्रतिनिधिहरु संस्थापन पक्षमा रहेकाले चुनाव जित्नेमा म ढुक्क छु’ उनले भने, निधि लगायतका नेताहरुको समर्थन समेत आफूलाई नै हुने छ । कोइराला समूह सित सहमतिमा भइरहेको ढिलाईलाई मन्त्री यादव निकटका नेताहरुको छटपटी बढाएको छ । समयमै सहमतिको सन्देश प्रतिनिधिहरुमा जान सके त्यसको सकारात्मक असर हुने उनीहरुको विश्वास छ । तर नेता निधिले भने अडान छाडेका छैनन् । मन्त्री यादवले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गरिरहेका छन् ।

उनले स्वतन्त्र उम्मेदवारकै रुपमा उम्मेदवारी घोषणा गरेका कारण सबै समूहको मत सहज रुपमा आउने विश्वास गरेका छन् । संस्थापन पक्षको विरुद्ध उनलाई जित्ने उम्मेदवारको रुपमा कोइराला समूहले पनि पत्याएका छन् । निर्वाचन समितिले स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दाखिलाका लागि समय निर्धारण गरेको छ । त्यस अघि प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराउन विहान ८ बजेदेखि समय निर्धारण गरिएको छ । कांग्रेस धनुषाका सचिव विशेश्वर यादवले जारी गरेको सुचना अनुसार प्रतिनिधिहरुले नाम दर्ता गराउन २ हजार नगदको रसीद कटाउनु पर्ने छ । प्रतिनिधिहरुलाई भोजनको व्यवस्था गरिए पनि वासको व्यवस्था स्वयं गर्नुपर्ने नेका धनुषाका उपसभापति सन्तोष यादवले बताए । प्रदेश २ का ८ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी १ हजार ९ सय २० जना मतदाता रहेका छन् । यसमा केही केन्द्रीय सदस्यहरु थप हुन सकिने बताइएको छ । मतदानका लागि बुधवार विहानदेखि समय निर्धारण गरिएको छ ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=1s

Comment


Related News

Latest News

Trending News