जनकपुरधाम । जनकपुरधाममा रहेको राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ ।
कन्ट्रयाक्ट (पेपर कोर्ष) तर्फका शिक्षकहरुले विभिन्न माग अघि सार्दै अनिश्चितकालकालागि सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका हुन् । विश्वविद्यालयले उप– प्राध्यापक पदका लागि सेवा आयोगले विज्ञापन आह्वान गरेपछि उनीहरुले सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले सेवा आयोगका अध्यक्ष प्रा. डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखा शाखामा पनि ताला लगाएका छन् । स्थापना कालदेखि नै कार्यरत शिक्षकहरुको बारेमा कुनै निर्णय गर्न नसकेको विश्वविद्यालयले विज्ञापन आह्वान गरेकोले बाध्य भइ तालाबन्दी गरेको पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षक संघका अध्यक्ष दिलिप यादवले बताए । विश्वविद्यालयमा कार्यरत अधिकांश शिक्षकको उमेर हद पूरा हुन लागेको जानकारी दिँदै उनले भने,‘हामीले विभिन्न माग राखी महिनौदेखि आन्दोलन गर्दै आएका छौं तर हाम्रो मागलाई वेवास्ता गरियो ,त्यसैले हामी कडा आन्दोलनमा उत्रिन बाध्य भएका छौं।’ कार्यरत शिक्षकहरुको मागको सुनुवाइ नै नगरीकन नयां भर्नाका लागि विज्ञापन आह्वान गरेपछि बाध्य भएर तालाबन्दी गरेको आन्दोलित शिक्षकहरुले बताए ।
करारमा कार्यरत शिक्षकहरुलाई नै प्रक्रिया पूरा गरी स्थायी गर्न पटक–पटक चरणबद्ध आन्दोलन नै गर्दै आएको तर कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन कडा बनाउनु परेको अध्यक्ष यादवले जनाए । विश्वविद्यालयमा उप– प्राध्यापक पदका लागि सेवा आयोगले सोमबार विज्ञापन आह्वान गरेको छ । गोरखापत्र दैनिकमा सोमबार विज्ञापन प्रकाशन भएपछि कन्ट्राक्टका शिक्षकहरुले आन्दोलनलाई सशक्त बनाउने निर्णय गर्दै तालाबन्दी गरेका हुन् । विश्वविद्यालयका उपकूलपति भरत झा समक्ष पटक–पटक मागबारे जानकारी गराउंदा पनि कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको शिक्षकहरुको गुनासो छ । सेवा आयोगले विज्ञापन आह्वान गरेपछि ,पहिलेदेखि कार्यरत शिक्षकहरुको उम्मेर, अनुभवलाई ग्राह्यता नदिएको देखिएपछि तालाबन्दी गरिएको जनाइएको छ ।
https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=2s


