जनकपुरधाम । धनुषा प्रहरीले बील हुंदाहुंदै पनि अवैध भन्दै किराना समानहरु नियन्त्रणमा लिइ भन्सारमा बुझाएर मनोमानी गरेको विरोधमा जनकपुरधामका व्यवसायीहरुले जुलुश प्रदर्शन गरेका छन् ।
उद्योग बाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठको अगुवाईमा व्यवसायीहरुले स्टेशन चोकमा रहेको भन्सार कार्यालय अगाडि सोमबार टायर बालेर प्रहरीले ज्यादती गरेको भन्दै नारा जुलुश प्रदर्शन गरेका हुन् । सर्लाहीको हरियौनका केयर सिटी डिष्ट्रिब्युटर प्राइभेट लिमिटेडले धनुषाको प्रखे महुवा प्रदिप रेडिमेड कलेक्शनको लागि पठाएको ८ लाख ९३ हजार ३ सय ५० मूल्य बराबरको टुथपेष्ट,टुथब्रश सहितका समान गाडी र चालक सबिन भुजेल सहित प्रहरीले नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाएको छ । बील र अर्थमन्त्रालयको भीडीएस लगायतको सम्पूर्ण कागजपत्र चालकले देखाएपनि दुहबी प्रहरीले मनोमानी गर्दै अवैध रहेको भन्दै सामान नियन्त्रणमा लिएको विरुद्ध व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । प्रखे महुवामा रहेको प्रदिप रेडिमेड कलेक्शनमा पुग्नु पर्ने समानहरु चालक भुजेलले बाटो बिराएर दुहबी पुगेको र समानको बीलिंग समेत भएको जानकारी दिँदै जउवासंघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले भने,‘प्रशासनलाई यदि यसमा तस्करी भएको छ भनी शंका लागेको छ भने पक्राउ गर्नु पर्छ तर भन्सारमा बुझाउंदाखेरि बील पनि बुझाउनु पर्ने थियो तर प्रहरीले बील नबुझाएर जानाजानी बदमाशी नै गर्न खोजेको भन्दै आफूहरु आन्दोलन गर्न बाध्य भएका छौं।’ सोमबार सांकेतिक रुपमा विरोध प्रदर्शन गरेपनि प्रहरी प्रशासनले गर्दै आएको मनोमानी बन्द नगरे जनकपुरधामका व्यवसायीहरु कडा आन्दोलनमा उत्रिने चेतावनी उनले दिए । प्रहरीले चालकसंग बील लिएपनि भन्सारमा नबुझाएकोले भन्सारले बील हुंदाहुंदै पनि सामानलाई अवैध भन्दै बुझेको उनले बताए ।
विगत केहीदिनदेखि प्रहरीले व्यापारीहरुसंग दुःख दिने काम गरेको गुनासो गर्दै उनले भने,‘अर्थमन्त्रालयको भीडिएसबारे जानकारी दिँदै एसपी वसन्त रजौरेसंग कुरा गर्दा एसपी रजौरेले पहिलेदेखि भन्नु पथ्र्यो भन्नु कतै न कतै प्रहरीले गल्ती गरेको स्वीकारोक्ति गरेको छ।’ जुन व्यापारीहरुबाट प्रहरीलाई रकम दिइन्छ उनीहरुको लागि तस्करीको लाइन खुल्ला गरिने र बैद्य रुपमा काम गर्ने व्यापारीहरुलाई दुःख दिने प्रवृति नै हावी भएको व्यापारीहरुको आरोप छ । प्रहरीले कमिशन नदिएकै कारण रिसिवी साध्ने हिसाबले गर्दै आएको क्रियाकलापको विरुद्ध हामीले वृहत बैठक गरेर अगाडि बढ्ने अध्यक्ष महासेठले जनाए । प्रहरी प्रशासन यस प्रति संवेदनशील नभए भोलीको दिनमा व्यवासायीहरु कडा प्रतिरोधमा उत्रिने चेतावनी दिँदै उनले यस्तो क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे । आइतबार दिउँसो तीन बजेको समयमा दुहबी प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले सर्लाहीको हरियौन लालबन्दीबाट प्रखे महुवाको लागि आएको सामान नियन्त्रणमा लिएको चालक भुजेलले बताए । यता जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले बील नभएको कारण सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको दाबी गरेका छन् ।
विगत केही दिन यतादेखि धनुषा जिल्लामा प्रहरीले बील हुंदा हुंदैपनि अवैध समान रहेको भन्दै समान नियन्त्रणमा लिने र कमिशन दिनेलाई सहजै निकास दिने र कमिशन नदिइ वैद्य रुपमा कारोबार गर्ने व्यवसायीहरुलाई दुःख दिने काम गर्दै टुडे समाचारदाता आएको व्यापारीहरुको गुनासो छ ।


